बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा माटोमा भासिएर दुर्घटनाग्रस्त



नेपाल दर्पण, झापा ।
काठमाडौंंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् ।



उक्त जहाजमा ५१ जना यात्री, चारजना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य ६ जना यात्रु घाइते भएका छन् । घाइतेहरुमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ ।



भाग्यवश जहाजका दुवै पँखेटामा कुनै क्षति पुगेन । पँखेटामा इन्धन भण्डारण हुने भएकाले त्यहाँ क्षति नपुग्दा आगलागी हुनबाट जोगिएको र ठूलो दुर्घटना टरेको विमानस्थल स्रोतले जनाएको छ । घटनापछि भद्रपुर विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुर्घटनाका कारण काठमाडौं उड्न लागेको यति एयरलाइन्सको जहाज पनि विमानस्थलमै रोकिएको छ, जसका यात्रु अलपत्र परेका छन् । बुद्ध एयरले घटनालगत्तै विज्ञप्ति जारी गर्दै प्राविधिक टोली भद्रपुर पठाउने तयारी गरेको जनाएको छ । घटनाबारे विस्तृत छानबिन भइरहेको छ ।

