मेयर बालेन शाहलाई पितृशोक



नेपाल दर्पण, काठमाण्डौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो । बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो । उनलाई आइतबार अस्पताल लगिएको थियो।
७७ वर्षीय उनको उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको सिभिल अस्पताल स्रोतले जानकारी दिएको छ । ‘उहाँलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन, अवस्था गम्भीर थियो । उपचार क्रममा आज मध्याह्न निधन भएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो । साथै मस्तिष्कमा पनि असर देखिएको थियो ।
आजै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर मेयर बालेन शाहलाई भेटेकी थिइन् भने रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । दाहसंस्कारमा मेयर बालेन भावविह्वल देखिएका थिए । रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी आयुर्वेद डाक्टर थिए ।

