म्यानमारीसँगै बंगलादेशी पनि नेपाली पासपोर्टमा साउदी पुगेको खुलासा

नेपाल दर्पण, काठमाडौं ।

म्यानमारी रोहिंग्यासँगै बंगलादेशी नागरिक पनि नेपाली हस्तलिखित पासपोर्टमा साउदी पुगेको भेटिएको छ । साउदी अरबस्थित नेपाली दूतावासले थप खोजी गर्दा उक्त कुरा पता लागेको हो । दूतावासका अनुसार नेपाली पासपोर्टमा सउदी आउने १० प्रतिशत बंगलादेशी नागरिक छन् । यसअघि २०० जना म्यानमारी रोहिंग्याहरू नेपाली हस्तलिखित पासपोर्टमा साउदी अरब पुगेको खुलेको थियो । अहिले यो संख्या ३०३ पुगेको छ ।

नेपाली पासपोर्टमा साउदी पुगेका ३०३ जना म्यानमारी रोहिंग्या र बंगलादेशीको विवरण प्राप्त भएको छ । पहिला रोहिंग्या मात्र भन्ने थियो । नेपाली पासपोर्टमा बंगलादेशी पनि भेटिएका छन् । बंगलादेशीको संख्या करिव १० प्रतिशत छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । परराष्ट्र स्रोतका अनुसार, नेपाली पासपोर्टमा साउदी पुगेका म्यानमारी रोहिंग्या र बंगलादेशीमध्ये १२ जना मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी)मा गएको पाइएको छ । बाँकी सबै हस्तलिखित पासपोर्टमा गएका हुन् ।

“हामी यस विषयमा थप अध्ययन गरिरहेका छौं । विदेशी नागरिक कसरी नेपाली पासपोर्टमा साउदी पुगे भन्ने गम्भीर विषय हो । नागरिकताका आधारमा पासपोर्ट बन्छ । नागरिकता कसरी बन्यो प्रश्न अहंम् छ । केही व्यक्ति नेपालको हस्तलिखित पासपोर्ट फोटो परिवर्तन गरी गएको पनि देखिएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । अहिले नेपाली पासपोर्टमा साउदी पुगेको केही म्यानमारी रोहिंग्या तथा बंगलादेशीलाई साउदी अरबले ‘डिटेन्सन सेन्टर’ मा राखेको छ भने केहीलाई निगरानीमा बाहिर छोडेको छ ।

नेपाली पासपोर्टमा साउदी पुगेका धेरै म्यानमारी रोहिंग्या र बंगलादेशीसँग हस्तलिखित पासपोर्ट भएका कारण उनीहरूले १५ वर्षअघि नै ती पासपोर्ट लिएको देखिन्छ । जसअनुसार उनीहरू सबै २०७२ मंसिर ८ गते अगावै त्यहाँ पुगेका थिए । किनभने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधान अनुसार २०७२ मंसिर ८ गतेभन्दा पछाडि नेपाली हस्तलिखित पासपोर्ट प्रयोग गर्न पाइँदैनथ्यो । राहदानी विभागका अनुसार, जतिबेला नेपालले हस्तलिखित पासपोर्ट जारी गर्न बन्द गर्यो त्यतिबेला २०७२ मंसिर ८ गतेसम्म र त्योभन्दा माथि म्याद भएका २५ लाख हस्तलिखित राहदानी प्रयोगमा थिए । ती राहदानी एकै दिन (२०७२ मंसिर ८ गत) काम नलाग्ने भएका थिए । तर अब उनीहरुले कसरी नेपाली पासपोर्ट बनाए, कस्ले बनाइदियो यसको छानबिन हुन आवश्यक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *