बाढी पहिरोले देशभर ६० जनाको मृत्यु, सैकडौं घरधुरी डुबानबाट प्रभावित

नेपाल दर्पण, काठमाडौं ।

असोज १७ गते शुक्रवार रातिदेखिको वर्षापछिको विपद्का समयमा देशभर ६० जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ । निधन हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको निधन भएको उनले बताए ।

यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जनाको निधन भएको छ। उदयुपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक जना पुरुषको निधन भएको छ । रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जना, मोरङ, सिन्धुली र महोत्तरीमा एक÷एक जना महिलाको निधन भएको छ । यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेपाञ्चोकमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको बताएको छ । पहिरो तथा डुबानका कारण इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा मानवीय क्षति भएको छ । विपद् जोखिममा परेका १८ जनालाई यसबीचमा नेपाली सेनाको होलीकोप्टरबाट उद्धार गरिएको छ । झापाको झापा गाउँपालिकामा ४९० घरधुरी डुबानबाट प्रभावित भएकामा एक हजार ६६४ जनालाई सुरक्षित स्थानामा स्थानान्तरण गरिएको थियो । झापाको गौरीगञ्जमा १०५ घरमा पानी पसेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *