प्रधानमन्त्री कार्कीको राष्ट्रको नाम सन्देशःसंविधान संशोधन नगर्ने, चुनाव गर्ने


नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनमा भाग लिनको लागि सबैलाई आह्वान गरेकी छिन् । आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला सबैलाई सक्रिय सहभागिताको लागि आह्वान गरेकी छिन् ।
तर कार्कीले जेन–जी आन्दोलनका क्रममा संविधान संशोधनको माग उठेको कुरातर्फ संकेत गर्दै उक्त एजेन्डा आगामी २१ फागुनमा हुने नयाँ निर्वाचनपछि हुने स्पष्ट पारिन । सो क्रममा उनले आफू नेतृत्वको सरकारलाई संविधान संशोधन र शासकीय स्परुप फेर्ने अधिकार नभएको स्पष्ट पारिन् । उनले अहिले प्रतिनिधिसभाको निर्वाचन हुने अनि उक्त निर्वाचनपछि बन्ने सरकारले प्रत्यक्ष कार्यकारीको लागि संविधान संशोधन गर्न सक्ने बताएकी हुन् ।निर्वाचन सम्पन्न हुन शान्तिपूर्ण वातावरण हुन जरुरी रहेको भन्दै सबै नेपालीलाई धैर्यतापूर्वक शान्ति कायम राख्न पनि उनको आग्रह छ ।
प्रधानमन्त्री कार्कीले भनिन्,‘‘६ महिने कार्यकाल रहेको सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था छैन । तैपनि हामी कतिसम्म गर्नसक्छौं त्यसको इमानदार प्रयास गर्नेछौं । नेपालको संविधान र शासकीय स्वरूपबारे जेनजी पुस्ताले आन्दोलनको क्रममा उठाएको विषय वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय हो ।’ भ्रष्टाचार न्यूनीकरणको लागि वर्तमान सरकारले दृढतापूर्वक काम गर्ने पनि उनको भनाई छ । सेवाग्राहीसँग अपमानजनक काम भए उजुरी दिनपनि उनले आग्रह गरिन् ।