चुनावको तयारीमा जुट्न प्रमको निर्देशन,रास्वपा–माओवादी तयार, कांग्रेस एमाले अलमलमा


नेपाल दर्पण, काठमाडौं ।
आगामी फागुन २१ गतेको चुनावको तयारीका सम्बन्धमा सरकारले चरणबद्ध छलफल अगाडि बढाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन दिएकी छन् । मंगलबार आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएकी हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेकी हुन् । छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारी गर्नै पर्ने र तयारीका सम्बन्धमा कुनै अवरोधहरु छन् भने त्यसलाई पहिचान गरेर सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी ढंगले सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक स्रोत–साधन, जनशक्ति र शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने बताईन् । उनले आयोगलाई तयारीका सम्पूर्ण कार्य अगाडि बढाउन निर्देशन दिएकी छन् ।
सरकारले चरणबद्ध छलफल अगाडि बढापनि यता प्रमुख राजनीतिक दलहरू भने अलमलमा देखिएका छन । नेपाली कांग्रेस र नेकपा एमालेको पार्टीका औपचारिक छलफल नै हुन सकेका छैनन् । यसकाकारण दुवै पार्टीका नेताहरू एकातिर प्रतिनिधि सभा विघटनलाई असंवैधानिक रहेको तर्क गर्दै गरिरहेका छन् । अर्कोतिर चुनावका लागि सरकारको व्यवहार समेत हेरिरहेको बताउँछन् । नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावको पूर्व तयारीमा लागिसकेको बताउँछन् । यी दुवै दलले पार्टीका पदाधिकारी र केन्द्रीय समितिको बैठकमै चुनावको पूर्व तयारीलाई एजेण्डा बनाएका छन् आगामी फागुन २१ गतेको चुनावको तयारीका सम्बन्धमा सरकारले चरणबद्ध छलफल अगाडि बढाएको छ ।