रास्वपामा अर्लि महाधिवेशन’को बहस सुरु, पार्टीभित्र विभिन्न टिकाटिप्पणी


नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकमा पार्टी भित्र परिवर्तित परिस्थिति र चुनाव कारण देखाउँदै ‘अर्लि महाधिवेशन’को बहस सुरु भएको छ । तर, पार्टी केन्द्रीय समितिले कुनै निर्णय लिएको छैन । पार्टीका कार्यवाहक प्रवक्ता मनिषा झाले मध्यावधि चुनावलाई ख्याल गर्दै ‘अर्लि महाधिवेशन’बारे छलफल सुरू भएको बताएका छन ।
पार्टी केन्द्रीय समितिले २०८२ फागुन ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । आउँदो मंसिर महिनामै गर्ने गरी महाधिवेशन मिति सारौँ भन्ने धारणा पार्टीकै केन्द्रीय नेताहरुबाट आइरहेको र आफू पनि त्यही पक्षमा रहेको उनले बताए । झा भन्छन्, ‘‘दसैँ सकिएलगत्तै युद्धस्तरमा काम गर्नेे हो भने अर्लि महाविधेशन सम्भव हुन्छ । त्यस निम्ति तोकिएको कार्यतालिका र निर्णयमा हेरफेर गर्नुपर्ने हुन्छ ।’’
मुलुककै राजनीति परिवर्तन हुँदै आउँदो फागुन २१ गतेका निम्ति प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको हुँदा महाधिवेशन सार्नुपर्ने देखिएको झा बताउँछन् । पार्टीले यसअघि यही असोजभित्र वडा, कात्तिकभित्र पालिका, मङ्सिरमा जिल्ला अधिवेशन सक्दै माघ १५ सम्ममा प्रदेश अधिवेशन गरी केन्द्रीय महाधिवेशन गर्ने निर्णय लिएको थियो ।
झाले केही दिनअघि भएको सचिवालय बैठकमै ‘अर्लि महाधिवेशन’को प्रसंग उठाउँदै केन्द्रीय समितिको बैठकमा प्रस्ताव राख्नुपर्ने धारणा राखेका थिए । तर, पार्टीले यसबारे कुनै निर्णय लिएन । झाले भने, ‘‘पार्टी गठन गर्दाका बखत धेरै साथीहरु जोडिनुभयो । कतिपय साथीहरु यतिखेर सक्रिय हुनुहुन्न । महाधिवेशन गरेपछि निस्क्रिय साथीहरु स्वतः पन्छिनु हुन्छ । पार्टीमा सक्रिय साथीहरु विधिवत् निर्वाचित भएपछि स्वतः पार्टी सक्रिय हुन्छ ।’’राष्ट्रिय स्वतन्त्र पार्टी ३९ महिनाअघि गठन भएको थियो ।
पार्टी गठन हुँदा हुलमुल र नागरिक प्रयोग गर्ने क्रममा नजिकका व्यक्तिलाई केन्द्रीय सदस्य बनाएको र सक्रिय व्यक्तिहरुले पार्टीमा ठाउँ नपाएको टिकाटिप्पणी चल्दै आएको छ । महाधिवेशन भएमा तिनीहरु स्वतः ‘स्क्रिनिङ’ हुने पार्टीकै नेताहरु बताउँछन् । स्थानीय चुनावमा स्वतन्त्र व्यक्तिहरुको उदय भएपछि ‘स्वतन्त्र’ नाम जोड्दै पूर्व मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको थियो । पार्टी खुलेलगत्तै संसदीय चुनावमा होमिँदै रास्वपा चौथो शक्ति बनेको थियो ।