शीतलनिवासमा ‘सेलिब्रेट’ गर्न वा भोज खान हैन, नेताले शिर नउठाउन भएको गएको हुः सुदन गुरुङ

नेपाल दर्पण, काठमाडौं ।

शनिबार एक भिडियो सन्देश जारी गर्दै हामी नेपालका संस्थापक सुदन गुरुङले आफू शीतलनिवास जानुको कारणबारे उठेका प्रश्नहरूको जवाफ दिएका छन् । उनले आफू राष्ट्रपति भवन शीतलनिवासमा ‘सेलिब्रेट’ गर्न वा भोज खान नगएको देश गम्भीर संकटमा परेको बेला संविधानको रक्षा गर्न र राजनीतिक दलहरूलाई उनीहरूको गल्तीको महसुस गराउन मात्र आफू त्यहाँ उपस्थित भएको उनले बताएका छन ।

‘म त्यहाँ सेलिब्रेट गर्न गएको होइन,’ गुरुङले भने, ’नेताहरू सबै आउने भनेपछि, उनीहरू शिर उचालेर नहिँडुन् भनेर म त्यहाँ गएको हुँ ।’ उनले आफू कुनै पनि नेतासँग एउटै कुर्सीमा समेत नबसेको र उनीहरूले दिएको चिया–पानीसमेत नखाएको दाबी गरे । ‘मेरो भाइबहिनीको रगतले बनेको सरकारमा मलाई उनीहरूको केही खानु मन छैन, म अशुद्ध हुन्छु भनेर मैले पानीसमेत खाइनँ,’ उनले भने । गुरुङले जेन जी आन्दोलनपछि देशमा उत्पन्न संकटको घडीमा आफूले देशलाई अभिभावकविहीन हुनबाट बचाउन निर्णायक भूमिका खेलेको बताए । उनका अनुसार, यदि संविधान खारेज गरिएको भए राष्ट्रपति पद रिक्त हुने, देश अभिभावकविहीन हुने र बाह्य हस्तक्षेपको खतरा बढ्ने अवस्था थियो ।

‘मलाई १५ मिनेटको समय दिइएको थियो, तपाईंहरूको भविष्यबारे के गर्ने भनेर निर्णय लिन,’ उनले भने, ‘संविधान खारेज गरेको भए राष्ट्रपति पनि जानुहुन्थ्यो, देश अभिभावकविहीन हुन्थ्यो । भारतबाट सेना आउन तयार छ भन्ने हल्ला थियो । के त्यस्तो देश चाहिएको हो हामीलाई ?’ गुरुङले राजनीतिक दलहरूले फैलाउने अफवाह र प्रोपोगान्डाबाट सचेत रहन आम नागरिकलाई आग्रह गरे। उनले ‘हामी नेपाल’ को आधिकारिक सूचनामा मात्र विश्वास गर्न र विभाजित नहुन अनुरोध गरे ।

उनले आफूलाई निम्तो आउँदा सुरुमा नजाने भनेको भएपनि त्यहाँ नेताहरुपनि आउने थाहा पाएपछि नेताहरुले शीर ठाडो नपारुन् भनेर आफू गएको स्पष्ट पारे । म सुरुमा त्यहाँ जादिनँ नै भनेको थिएँ । तर, नेता–सेता सबै आउँछ भनेपछि यिनीहरु त्यहाँ शीर उचालेर हिँड्छ भनेर म त्यहाँ गएको हो । म त्यहाँ एउटा नेतासँग पनि बस्दापनि बसिनँ । कुर्सीमा म कोहीसँग पनि बसिनँ, म उभिएर पानीमा रुझेर बसेको थिएँ । पानी र चिया खानु भनेको थिए, मैले त्यो पनि खाईनँ ।’ उनले देशका लागि लड्ने हरेक व्यक्ति ‘जेन जी’ र सच्चा नेपाली भएको बताउँदै अब सबै पुस्ताका नेपालीहरू एकजुट हुनुपर्ने बेला आएकोमा जोड दिए । उनले आफ्नो बोली र व्यवहारमा कमजोरी भए त्यसलाई सुधार्न तयार रहेको तर देश बनाउने अभियानमा सबै एक हुनुपर्ने बताए । उनले राजनीतिक दलहरूको ‘फुटाउ र राज गर’ को नीतिका कारण जनता विभाजित भइरहेको भन्दै यस्तो अवस्थामा सचेत रहन सबैलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *