जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको शहादत, घाइतेहरूलाई भेट्न पुगिन प्रधानमन्त्री

नेपाल दर्पण, काठमाडौं ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी कार्की आज जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगेकी छन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की उपचाररत घाइतेहरूलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुगेकी हुन् ।

यसअघि प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेटेकी थिइन् । त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो । जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

कार्की प्रधानमन्त्री नियुक्तभएसँगै संयुक्त अधिराज्य बेलायतले यो विषय महत्वपूर्ण कदम भएको उल्लेख गरेको छ । यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो । बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकांक्षालाई समर्थन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *