संसद् बहिष्कारमा रास्वपाको कीर्तिमान, एमाले दोस्रो


नेपाल दर्पण, काठमाडौं ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समेत छानबिनको माग गरेरप्रतिनिधि सभाको अवरोध र बहिष्कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ कीर्तिमान बनाएको छ । एकै अधिवेशनमा सबैभन्दा लामो समयसम्म अवरोध र बहिष्कारको रेकर्ड यसअघि नेकपा (एमाले) ले बनाएको थियो । एमालेको रेकर्डलाई रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले भङ्ग गरेका छन् ।
चालु अधिवेशनको जेठ १३ गतेबाट सुरु भएको अवरोध र बहिष्कारको सुरुवाती १८ दिन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि साथ दिएको थियो । सत्तारूढ दलसँग भएको दुईबुँदे सहमतिपछि जेठ २९ बाट माओवादी केन्द्रले संसदीय कामकारबाहीमा भाग लिएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समेत छानबिनको माग गरेर माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतले अवरोध सुरु गरेका थिए । जेठ १३ गतेयता रास्वपा र राप्रपाको अवरोध–बहिष्कार १०१ दिन पुगेको छ । वार्षिक बजेट पेसका दिन भने दुवै दल संसदीय कामकारबाहीमा सहभागी भएका थिए ।
संसद्को चालु अधिवेशन वैशाख १२ गतेबाट सुरु भएको हो। जेठ १३ बाट अवरोध गरिरहेको रास्वपाले असार ९ गतेबाट सभामा आफ्ना राखेर बहिष्कार गर्दै आएको छ । राप्रपाले भने सुरुवातदेखि नै बैठक बहिष्कार गरिरहेको छ । यसबिचमा प्रतिनिधि सभाको बैठक संख्या ६१ पुगेको छ ।
दलको पत्राचार सभामुखले कार्यान्वयन नगरेको तथा तत्कालीन राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा एमालेले लामो समय प्रतिनिधि सभा अवरोध ग¥यो । एमालेले दुई अधिवेशनमा निरन्तर विरोध गरेको थियो । प्रतिनिधि सभाको तत्कालीन नवौँ अधिवेशन २०७८ भदौ २३ बाट सुरु भई कात्तिक ११ गतेसम्म ५२ दिन चलेको थियो। उक्त अवधिमा १३ वटा बैठक बसेका थिए। सम्पूर्ण बैठक एमालेले अवरोध गरेको थियो ।