रविलाई भेट्न भैरहवा जेल पुगे बाबुराम, सरकारले अन्याय गरेको तर्क

नेपाल दर्पण, काठमाण्डौं ।

सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराई भैरहवा कारागार पुगेका छन । लामिछानेसँग भेट गरेर बाहिरिने क्रममा भट्टराईले जनताको प्रतिनिधि भएको व्यक्तिलाई बाहिर जमानतमा रहेर मुद्दा लड्न दिने व्यवस्था गर्नुपर्ने बताएका छन ।

सांसदलाई थुनामा राख्दा जनतालाई अन्याय हुने भएकाले कसैमाथि पनि राजनीतिक ढङ्गले अन्याय हुन नहुने उनको भनाइ छ । उनले रवि लामिछानेलाई पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको भन्दै कसैलाई पनि सूचनाबाट वञ्चित गर्न नहुने बताए । भैरहवा कारागारमा लामिछानेलाई राखेको ठाउँ पनि आफूलाई उचित नलागेको उनले बताए ।

यता, लामिछानेले पनि आफ्नो रिहाईको माग जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका हुन् । ‘बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै उहाँ (रवि लामिछाने) ले अदालतमा निवेदन दिनुभएको छ’, जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार विकास बस्नेतले अन्नपूर्ण पोष्ट्सँग भने,‘अब निवेदकको माग बमोजिम आदेश हुने÷नहुने विषयमा बेन्च (इजलास)ले हेर्छ ।’

लामिछानेले दिएको निवेदन उपर अझै बहस सुरु भएको छैन । निवेदन उपर लामछिाने र सरकारी वकिलको तर्फबाट बहस हुनेछ । त्यसपछि इजलासले आदेश गर्नेछ । निवेदन दर्ता भएको साउन १९ गते नै अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो । साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी निवेदकको (लामिछाने) को कानुन व्यवसायीबाट दुवै दिन स्थगित भएको जिल्ला अदालत रुपन्देहीको वेभसाइटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *