रास्वपाका सांसदहरुले निलो स्काफ लगाएपछि प्रतिनिधिसभा बैठक स्थगित !


नेपाल दर्पण, काठमाण्डौं ।
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसदहरुले निलो स्काफ लगाएर प्रवेश गरेपछि सूचना टाँसेर गरेर बिहीबारसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो । रास्वपा सांसद तोसिमा कार्कीले मानव तस्करीविरूद्धको अभियानलाई विश्वव्यापीरूपमा ’निलो रिबन’को प्रतीकले जनाउने भएकाले आफूहरूले निलो रिबन लगाएर विरोध गरेको बताइन् ।
सभामुख देवराज घिमिरेले सहमतिका लागि बुधबार दिनभर गृहकार्य गरेर बिहीबार बैठक समय अघि सहमति गर्न आग्रह गरेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए । त्यस्तै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरूले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाए । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले निलो स्काफ लगाएर रास्वपाका सांसदहरूले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाए ।
बर्तौलाले रास्वपाका सांसदहरूको विरोधको शैलीका कारण सांसदको लोगो लगाएर हिंड्दा अपमानित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले संघीय निजामती सेवा विधेयकलाई सरकारले रोक्न खोजेको आरोपको खण्डनसमेत गरे । उनले विधेयकमाथि छलफल गर्ने, संशोधन वा परिमार्जन गर्ने विषय संसदको अधिकारको विषय भएको बताए । संघीय निजामती सेवा विधेयकलाई छिटो पारित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको उनले बताए ।
स्रोतका अनुसार सोमबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकमा निजामती विधेयकमा कुलिङ पिरियड नरहने गरी छलफल भएको थियो । त्यसको तयारीका लागि निजामती विधेयक पारित गर्ने कार्यसूची पर सारिएको दाबी सांसदहरुको छ । “निजामती विधेयक पर सार्नका लागि मंगलबारको बैठक सारिएको हो । कुलिङ पिरियडको व्यवस्था हटाउन खोजिएको छ । प्रधानमन्त्री भन्दा मुख्यसचिव पावरफुल भएको पो देखियो,” एक सांसद भन्छन् । प्रमुख प्रतिपक्षी माओवादीले निजामती विधेयक रोक्नका लागि दुई दिन सदन नराखिएको आरोप लगाएको छ ।
सभामुखसहितको प्रमुख सचेतकहरुको बैठकमा कार्यसूची नै अघि नबढाएकोमा आपत्ति जनाएको थियो । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटका विषमा चाहिँ छलफल चलाउने निजामती विधेयक आएपछि बैठक रोक्ने सरकारको रवैया गलत भएको टिप्पणी गरेका हुन् ।