पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा भ्रमणमा जाने, फेरि राजतन्त्र फर्किदैनः कांग्रेस


नेपाल दर्पण, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा भ्रमणमा जाने भएका छन् । शाहले गोरखामा रहेको गोरखनाथ मन्दिर र मनकामना मन्दिरको दर्शन गर्ने तय भएको शाहका सम्वाद सचिव डा. फणिराज पाठकले जानकारी गराएका हुन् । यसअघि पूर्वराजा शाह पोखराबाट काठमाडौं आउँदा हजारौंको संख्यामा जनताको स्वागत पाएका थिए ।
राजावादीहरु हौसिएको देखेपछि नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । राजाहरूले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उनको भनाइ छ । राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको उनले जिकिर गरे । विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गरे ।
‘राजनीतिको उन्नत प्रणाली गणतन्त्र ल्याएको छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै राजनीतिक दलहरु प्रतिवद्ध छौँ र कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किदैन, त्यो अवस्था छैन । जनताले कुनैपनि मोडलको राजतन्त्र चाहेको छैन । यसका लागि हामी जे पनि गर्न तयार छौं,’ बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले बेहोरेको बताए ।