पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, हजारौं सर्मथक सडकमा

नेपाल दर्पण, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन । सडकमा उत्रिएका राजावादीहरूले स्वागतका साथ उनलाई निर्मल निवासतर्फ लैजाँदै छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जय राउतका अनुसार ठूलो संख्यामा समर्थक उहाँसँगै छन् । चक्रपथ, महाराजगन्ज क्षेत्रको सडकमा सवारी आवागमन केही समय रोकिनेछ,” उनले भने । हजारौं समर्थक सडकमा उत्रिएको अनुमान छ । पूर्वतयारी गरेरै राजावादीहरू स्वागतका लागि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर पुगेका थिए ।

पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर अनौठो दृश्य देखियो । पूर्वराजाको पक्षमा अभियान चलाउँदै आएका समर्थकहरूले उनको तस्बिरसँगै भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको ठूलो तस्बिरसमेत बोकेका थिए ।

पूर्वराजाको आगमनका क्रममा समर्थकहरू राष्ट्रिय झन्डा, ब्यानर र नारा सहित उपस्थित भए । तर, भारतका एक मुख्यमन्त्रीको तस्बिरसहित प्रदर्शन गर्नुको कारणबारे विभिन्न प्रश्न उठेका छन् । सामाजिक सञ्जालमा यस विषयमा मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले नेपाली राजसंस्थाको पुनस्र्थापनासँग भारतीय नेताको सम्बन्ध किन जोडिएको भनेर आलोचना गरेका छन् भने केहीले हिन्दु राष्ट्रवादको अन्तर्राष्ट्रिय ऐक्यबद्धतासँग जोडेर हेरेका छन् ।

उक्त तस्बिर मुनि ‘राजसंस्था पुनस्र्थापना गरौँ’ भन्ने नारा लेखिएको छ । जसमा हिन्दुवादी अभियन्ता प्रदीपविक्रम राणाको नाम उल्लेख गरिएको छ। केही समयअघि पूर्वराजा शाहले योगी आदित्यनाथलाई लखनऊमा भेटेका थिए। जस कारण यो थप चर्चाको विषय बनाएको छ । चार्टर्ड उडानमार्फत आइतबार अपराह्न काठमाडौं आएका पूर्वराजा शाहलाई स्वागत गर्न राप्रपा नेपालका नेता कमल थापासहितका नेताहरू विमानस्थल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *