वैदेशिक रोजगारीमा जानेको संख्या १५.६६ प्रतिशतले वृद्धि


नेपाल दर्पण, काठमाडौं ।
देशमा केहि गर्ने बाटो नदेखेर विदेश जाने नेपालीहरुको संख्या यो वर्ष ह्वात्तै बढेको छ । गत वर्ष भन्दा चालु आर्थिक वर्षको पहिलो सात महिनामा औसतमा प्रत्येक महिना ६६ हजार ५०१ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । यो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या १५.६६ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो सात महिना (साउन १ गतेदेखि माघ मसान्तसम्म)मा वैदेशिक रोजगारीमा जान चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट चार लाख दुई हजार ४७७ जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान ६३ हजार ३१ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।
विभागले जारी गरेको विवरण अनुसार, २०८१ साउनदेखि माघ मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा चार लाख १२ हजार ५५२ जना पुरुष र ५२ हजार ९५६ जना महिला छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११.३७ प्रतिशत संख्या महिलाको छ । विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१÷८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
यस्तै, गत आर्थिक वर्ष २०८०÷८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३ र माघमा ६२ हजार १४७ जनाले श्रम स्वीकृति लिएका थिए ।