एमसीसी स्थगित, नेपालमा दिइएको सहायता ठगी होः राष्ट्रपति ट्रम्प

नेपाल दर्पण, काठमाडौं ।

दोस्रोपटक अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएका छन । यसै कारण एमसीसीका परियोजना पनि स्थगित भएको छ । मंगलवार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरू कार्यकारी आदेशअनुसार रोकिएको जानकारी गराएको छ ।

नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । यसअघि युएसएडसँग सम्बन्धित परियोजना पनि स्थगित भइसकेका छन् । यस्तै, ट्रम्पले नेपालमा दिइएको सहायतालाई ठगीको रूपमा व्याख्या गरेका छन् । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले नेपाललाई संघीयता सम्बन्धमा दिइएको २० मिलियन अमेरिकी डलर ठगी भएको बताएका हुन् ।

‘नेपाललाई २० मिलियन डलर संघीयताका लागि दिइएको छ । यो सरासर ठगी हो,’ उनले भने । उनले नेपाललाई १९ मिलियन अमेरिकी डलर जैविक विविधता संरक्षणका लागि पनि दिइएको बताएका छन् । अहिले यी दुवै सहायतालाई ट्रम्प प्रशासनले रद्द गरेको छ । उनका सहयोगी एलन मस्कले यी दुवै सहायता रद्द गर्न ह्वाइट हाउस प्रशासनलाई सुझाव दिएका थिए । सोही सुझावअनुसार ट्रम्प प्रशासनले गत १६ फेब्रुअरीमा यी दुवै सहायतालाई रद्द गर्ने निर्णय गरेको थियो । यसअघि नेपाललाई धर्म निरपेक्षताका नाममा दिइएको सहायतालाई पनि विश्व स्तरबाट आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *