बलुनको गुच्छा पड्किँदा अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते


नेपाल दर्पण, पोखरा ।
पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते भएका छन् । सोही कार्यक्रममा बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा आचार्य घाइते भएका हुन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।


शनिबार पोखरा प्रदर्शनी केन्द्रमा पौडेलले समारोह उद्घाटन स्वरुप बेलुनको झुत्तो उडाउन लागेका थिए । झुत्तो पोखराका मेयर धनराज आचार्यले मन्त्री पौडेललाई हस्तान्तरण गर्दा गर्दै नजिकै झिलझिल बालिएको आगोले टिपेको थियो। त्यही आगोले बेलुनको झुत्तो पड्किएको हो । बेलुनको झुत्तो पड्किँदा अर्थमन्त्री पौडेल र मेयर स्वयंलाई पनि सामान्य चोट लागेको हो । गालामा आगोले चोट पुगेपछि मन्त्री पौडेललाई उद्घाटन समारोहबाट मेयर आचार्यले नै अस्पतालमा पु¥याएका छन् । प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष घोषणा समारोह भने जारी छ ।


आगोले बेलुन टिपेपछि अर्थमन्त्री पौडेलले तत्काल मञ्चतर्फ दौडिएर कोट र टोपी फुकालेका थिए । उनका सुरक्षाकर्मीले तत्कालै शरीरमा कतै आगोका झिल्का छन् कि भनेर टकटक्याएका थिए । उद्घाटपछि हाइड्रोजन ग्यास भारिएको बेलुन उडाउन मेयर धनराज आचार्यले मन्त्री पौडेललाई अगाडिको रोमा बोलाएका थिए । त्यसक्रममा उद्घाटनका बेलामा बालिएको बत्तीले बेलुनमा आगो सल्किएको हो । अर्थमन्त्रीका सचिवालयले पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी पौडेलको स्वास्थ्यमा केही असर परेको जनाएको छ । पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको सचिवालयको भनाई छ ।


अर्थमन्त्री पौडेल आजै पोखरा महानगरपालिकाले शनिबार २०२५ वर्षलाई पोखरा भ्रमण वर्षका घोषणा गर्न मन्त्री पौडेल पोखरा आएका थिए। कार्यक्रममा संघीय पर्यटन मन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकीका पर्यटन मन्त्री मित्रलाल बस्याल लगायत उपस्थित छन् ।