‘जनयुद्ध’माथि प्रहार गर्ने खरानी हुनेछनःप्रचण्ड


नेपाल दर्पण, काठमाडौं ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानका उपलब्धि उल्टाउने प्रयास भइरहेको बताएका छ्न् । ’जनयुद्ध दिवस’का अवसरमा शुभकामना दिँदै उनले यो उपलब्धिमा युद्धको आधार भएको बताएका छन् । ‘प्रचण्ड’ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३० औं ‘जनयुद्ध दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।


“…हजारौँ सहिददहरूको बलिदानबाट, रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँसयौँ वर्षसम्म रहनेछ,” उनले भने, “कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ, उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ ।” यसलाई राष्ट्रिय दिवसका रूपमा अगाडि लैजानुपर्ने उनले जोड दिए । ‘जनयुद्ध’माथि अझै पनि प्रहार भइरहेको उनको भनाइ थियो ।


विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी हामी फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिमलगायत उत्पीडित समुदाय र क्षेत्रको एजेन्डामा फर्केको उल्लेख गर्दै उनले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रूपमा ग्रहण गरिरहेको बताए । ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो,’ उनले भने, ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, ऊ खरानी हुनेछ ।’


आफ्नो वर्ग र समुदायतर्फ फर्कदै जनताका एजेन्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेका उल्लेख गर्दै यसले पनि जनतामा सकारात्मक प्रभाव पर्दै गएको उनको भनाइ छ । अध्यक्ष दाहालले जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्नाका लागि गर्वको विषय भएको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताको अपिल गरेका छन् ।


जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रूपमा हामीले अगाडि लैजानुपर्छ,” उनले भने, “जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरू पनि भएका छन् ।” प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको उनले बताए । उनले प्रतिक्रियावादी शक्तिले गणतन्त्रलाई जनताको हुन नदिन अनेक गतिविधि गरिरहेको आरोप लगाए ।