बबरमहल डुब्यो मेलम्चीको पानीले !


नेपाल दर्पण, काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि बुधबार काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले थोक वितरण प्रणालीको जीआईएस म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको जनाएको छ ।


आज काठमाडौंको बबरमहलमा मेलम्चीको पाइप फुटेर बाहिर निस्किएको पानीले काठमाडौं जिल्ला अदालत, वन परिसरसहित आसपासका बस्ती जलमग्न भएका छन् । वन परिसर पछाडि रहेको बस्ती जलमग्न भएपछि मानिसका घर डुबानमा परेका छन् । गाडिको सडकमा विद्युत्लाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधिबश मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी केईआईका सुपरभाइजर अविनाश कुमारले स्वीकार गर्नुभएको छ,” जारी विज्ञप्तिमा उल्लेख छ ।


अहिले उक्त पाइपलाइनमा मेलम्चीको पानी पठाउन बन्द गरिएको छ भने क्षतिग्रस्त पाइपलाइन तत्काल मर्मत गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरिएको छ । यता विद्युत् प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानले अनुमति लिएरै काम गरेको तर बाइपास गरेर गर्नुपर्ने भए पनि कमजोरी ठेकेदारका तर्फबाट भएको बताए । बनाउन मेलम्चीले नै बनाए पनि प्राधिकरणले पैसा दिनुपर्ने अवस्था आउने बताए ।


सडक जलाम्मे हुँदा स्थानीयलाई हिँडडुल गर्न सास्ती भएको छ भने कतिपयको घरको तल्लो तलामा पानी पसेको छ । पानीका कारण वन परिसर अगाडिको सडक भासिएको छ । जलमग्न बस्तीमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएका छन् ।