ओली र ‘प्रचण्ड’ भ्रष्टाचारी भएको बाबुरामको आरोप, आफु र हिसिलामाथि छानविन गर्न चुनौती

नेपाल दर्पण, काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले अघि बढ्न नसक्ने अवस्था रहेको बताएका छन । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्ने बताए । उनले उनले राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व भएको पनि बताए । आफूहरूले गर्ने राजनीति रुपान्तरणकारी राजनीति भएको बताए ।

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तादेखि सत्ताको राजनीति गरेर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । डा.भट्टराईले ओली, प्रचण्डलक्षित गर्दै उनीहरु भ्रष्टाचारको विभिन्न काण्डमा फसेको भन्दै उनीहरुको कुरा नपत्याउने आग्रह गरे । आफ्नी श्रीमती हिसिला यमीमाथि पनि धेरै आरोपहरु लगाइएको प्रसंग उठाउँदै उनले हिसिला र आफूमाथि पनि छानविन गरेर दण्डित गर्न उनले सुझाव दिए । ‘जनतालाई र मिडियाका साथीहरुलाई मेरो आग्रह के छ भने– जो आफ्नो यात्रामा निरन्तर हिँडेको छ, उसको कुरा चाहीँ नपत्याउने, अनि जो चाहीँ सत्तादेखि सत्तामा गएर भ्रष्टाचार गरेको छ, अनैतिक काम गरेर फट्याईँ गरेको छ, भ्रष्टाचारका काण्डमा फसेको छ, उसका कुरा चाहीँ पत्याउने नगर्नुस् तपाईँहरु । बाबुराममाथि छानविन गर्नुस्, मेरो तपाईँहरुलाई चुनौति हो । उनले भने ।

त्यस्तै, आफूमाथि उठ्ने गरेका विभिन्न प्रश्न र प्रचण्डलाई निर्वाचन क्षेत्र छाड्नुको कारणसमेत उनले प्रष्ट पारे । ‘पुराना शक्तिहरुलाई हामीले बाईबाई भन्नैपर्छ । तैले किन यसो गरिस् भन्ने धेरैमा परेको छ । कहिले प्रचण्डलाई चुनावी क्षेत्र छोड्दिन्छस्, कहिले ओली र प्रचण्डसँग हात उठाएर के गरेको हो भन्ने धेरैलाई परेको छ । मैले प्रष्टै भनेको छु, सुरुदेखि नै मैले उहाँहरुसँग मिल्ने, कम्युनिष्ट पार्टीमा जाने, मैले कहिले पनि भनेको छैन । खाली म त संघीय लोकतान्तिक गणतन्त्र ल्याउनका निम्ति अग्रपंत्तिमा लडेको मान्छे हो त । यो त्यति सजिलै बनेको छ ?’ उनले भने, ‘यो संविधानलाई एकथरीले मन पराएकै छैनन् । देशभित्रकै राजावादीहरुले यो भत्कियोस् भनेर बसेका छन् । अर्को ठूलो छिमेकीले नोटमात्रै गरेर बसिरहेको छ, स्वीकार गरेको छैन । यहीपनि खस्यो भने के गर्ने ? हामीले त आधा गिलास भरी, आधा खाली भनेका थियौं । आधा गिलासलाई समातेर भर्ने भनेको पो हो त । तानातानमा आधा गिलास नै घोप्टियो भने के गर्ने भन्ने अर्थमा घोप्टिन नदिन पनि प्रचण्ड–ओलीसित पनि ठीकै छ त भनेकै हो । आधा गिलास बचाउनको निम्ति र शान्ति प्रक्रियाको बाँकी कामको निम्ति मिलौं भनेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *