सम्पत्ति शुद्धीकरणको डण्डा रविमाथि मात्रै हैन सबै नेताहरुमाथि चलाउनुपर्छःलिङदेन


नेपाल दर्पण, काठमाडौं ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार भ्रष्ट र भ्रष्टचारिको भएको बताएका छन । आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ठूला दल मिलेर बनेको सरकारले जनताले डलिभरी दिनुको साटो भ्रष्टाचारीलाई उन्मुक्ति दिएको टिप्पणी गरे ।
‘सरकारको यो समय साढे ६ महिनाको अवधि निरासाजनक छ । हामी चाहान्छौं । कांग्रेस एमालेजस्तो मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । हामी विरोधमात्र गर्दैनौं । अपेक्षा पनि गर्छौं । सुधार गरोस् । तर, अहिलेसम्मको स्थिति हेर्दाखेरी यो सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा नै लागिरहेको छ’ उनले भने । लिङ्देनले अहिलेको सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘एक जना पार्टीका अध्यक्ष ८४ दिनसम्म हिरासतमा बस्नुभयो, त्यही प्रकृतिको मुद्दामा त्योभन्दापनि ठूलो सहकारीकै सञ्चालक भएका मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने ? तपाईंको पार्टीको मान्छेले ? मैले रवि लामिछानेले हिनामिना गर्नुभएको छैन, बदमासी गर्नुभएको छैन भनेर वकालत गर्दिनँ । त्यो न्याय निरुपणको विषय छ । कानून त बराबर लाग्नुपर्छ होला नि त । एउटा मान्छलेले अदालतसम्म पुग्नको लागि ८४ दिनसम्म हिरासत बस्नुपर्ने ? अरु खुत्रुक्कै अदालतमा हाजिर भएर घर जान पाउनुपर्ने ? यो कस्तो व्यवस्था हो ? यो पक्षपात र दुरुपयोग हो कि होईन त ?’
लिङ्देनले सरकारले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको डण्डा चलाएको पनि बताए । उनले प्रधानमन्त्रीसहित सबै नेताहरुको पनि सम्पत्ति छानबिन र शुद्धीकरण हुनुपर्ने माग गरे ।