अब नागरिकता बनाउदा बाबुको नाम नचाहिने !


नेपाल दर्पण, काठमाडौं ।
सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ । गृहमन्त्री रमेश लेखकले उक्त विधेयक पेश गरेका हुन । विधेयकमा अब नागरिकता बनाउदा बाबुको नाम नचाहिने पनि भएको छ । कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर बाबु सम्पर्कमा नरहेको भनी स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानेर वंशजका आधारमा नागरिकता प्रदान गर्ने विषय पनि विधेयकमा सम्बोधन गरिएको उनले बताए ।
नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नेपालको नागरिकता प्रदान हुँदै आएकामा बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको जन्मको आधारमा नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा आमा सम्पर्कविहीन रहेको व्यक्तिका सन्तानलाई नेपाली नागरिकता प्रदान गर्न विद्यमान व्यवस्थामा परिमार्जन गर्नुपर्ने भएकाले उक्त विषय पनि विधेयकमा समावेश राखिएको गृह मन्त्रालय कानून महाशाखाका प्रमुखसमेत रहेका सहसचिव भरतमणि रिजालले बताए ।
“कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा सोहीबमोजिम नेपाली नागरिकता प्रदान गर्न तथा १६ वर्ष उमेर पूरा नभएका बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गर्नेसहितका विषय ऐनमा समावेश गर्नुपर्ने भएकाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्नुपरेको हो । यसले संविधान र कानूनबमोजिम नागरिकता प्राप्तिमा सहजता प्रदान गर्नेछ”, उनले भने ।