लामिछानेले कसुर नगरेको आधार नदेखिएको निष्कर्षसहित १ करोड धरौटीमा छाड्न आदेश
नेपाल दर्पण, काठमाडौं ।
रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरण मुद्दाका प्रतिवादी रवि लामिछानेसँग अहिलेसम्मकै धेरै धरौटी माग गरिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी हुन् । कार्यविधि संहिता बमोजिम एक करोड धरौटी बैंक ग्यारेन्टीमा तारेखमा राख्नू भन्ने आदेश भएको अदालतले जनाएको छ ।
धरौटीमा माग्दा अदालतले प्राप्त प्रमाणबाट लामिछानेले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने आधार नदेखिएको निष्कर्ष निकालेको छ । “मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम रु एक करोड नगद धरौट जेथा जमानत वा सर्तरहित (अन कन्डिसनल) बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू । सो बुझाउन नसकेमा कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागारमा पठाउनू,“ आदेशमा भनिएको छ ।
सो मुद्दामा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्र बाबु राई, लामिछानेलगायत प्रतिवादी छन् । लामिछाने गोर्खा मिडियाका पूर्व कार्यकारी निर्देशकसमेत हुन् । सो मुद्दाका २८ जना प्रतिवादीबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैंयाँ विगो माग दाबी गरिएको थियो । लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।