रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा


नेपाल दर्पण, बुटवल ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् ।
उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । त्यसपछि अदालतले आदेश जारी गर्नेछ । पहिलो दिन सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।
यस्तै, जाहेरकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्रराज भण्डारीसहित चारजनाले बहस गरेका थिए । शुक्रबार चिया समयपछि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो । वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाको मात्रै बहस सकिएको छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहित अधिवक्ता डा. नारायण कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले अब आइतबार बहस गर्नेछन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।