अदालतमा हाजिर हुन भैरहवा पुगे रवि लामिछाने


नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा अदालतमा हाजिर हुन उनी भैरहवा आएका हुन् । भैरहवामा अहिले उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसित भेटवार्ता गरिरहेको बताइएको छ । लामिछाने भोली जिल्ला अदालतमा हाजिर हुने बताइएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ६ गते अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा उनलाई प्रतिवादी बनाइएको छ । बुद्ध एयरलाइन्सको उडान नम्बर यू ४–८५९ बाट श्रीमती निकिता पौडेल लामिछानेका साथ मंगलबार साँझ उनी भैरहवा आइपुगेका पुगेका हुन् । रास्वपा स्रोतका अनुसार अदालतमा मुद्दा दर्ता भएपछि उनी आफैँ अदालतमा उपस्थित हुनका लागि भैरहवा आएका हुन् ।
यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका थिए । जिल्ला अदालत कास्कीबाट लामिछाने ६५ लाख र काठमाडौंबाट ६० लाख धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा समेत सहकारी ठगी मुद्दा रहेको छ ।