समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने

नेपाल दर्पण, काठमाडौं ।

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए । आज (बुधबार)को बैठकमा विषय समेत समेटेर माघ १२ सम्ममा सचिवालयका नेताहरूले प्रतिवेदन शीर्ष नेतालाई बुझाउने निर्णय भएको प्रकाण्डले बताए । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादव समूह) छन् ।

मोर्चा गठन हुँदा जनता समाजवादी पार्टी पनि थियो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला जसपा विभाजन भएको थियो । त्यसयता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मोर्चामा छैनन् । उनलाई क्रियाशील बनाउने पक्षमा नेताहरू छन् । उपेन्द्रले बैठकमा सहभागी नहुने जवाफ दिएका छन् । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार काठमाडौंमा गर्ने भनिएको कार्यक्रम आमसभा हो । ‘हामीले कार्यक्रम भनेको आमसभा भनेका हौं,’ उनले भने, ‘उपयुक्त स्थान हेरेर सभा हुन्छ ।’ त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि उनले जानकारी दिए ।

‘हाम्रा पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चा थोरै धिमा गतिमा बस्यो,’ उनले भने, ‘अब त्यसलाई अघि बढाउने प्रतिबद्धता भएको छ ।’ समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *