थुनछेक बहस नसकिएपछि रविलाई प्रहरीको जिम्मा लगाइयो

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमबार पनि न्यायिक हिरासतमा पठाइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस भने जारी छ ।

मंगलबार माघे संक्रान्ति र माघीको बिदा भएकाले अब अदालत बुधबार मात्र खुल्नेछ । मंगलबार सरकारी वकिलको कार्यालयका तर्फबाट बहस सकिए पनि लामिछानेका तर्फका वकिलको बहस नसिएकाले बुधबार पुनः थुनछेक बहस हुनेछ । जाहेरवालाको तर्फबाट केही वकिलले बहस गरे पनि केहीको बहस भने बाँकी छ । लामिछानेविरुद्ध काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उनी आइतबार बिहान अदालतमा उपस्थित भएका हुन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *