दिललाई
यति कठोर बनाएर हिँड्छु
कही
मइनजस्तो
कही
पहाडपत्थरजस्तो
लाग्छ
शब्दको अणुबम
प्रहार भए नि
यो मन नचर्किएला
यस्तै यस्तै
मन बनाएर
दिनभर व्यस्त
जिन्दगी गुजार्छु
घन्टौँ पछि उनको
म्यासेज आउँछ
रिसराग
दिनभरको
थकान पत्थरजस्तो
मन छिनमै
हिउँजस्तै पग्लनु
सायद
भाग्यमा नलेखेर होला
जुन कुरामा
खुसी हुन खोज्छु
त्यही कुराले
मन दुखाइदिन्छ
जानीजानी बसेको सम्बन्ध
योजना गरी गरी
गरिएको यात्रा
चाखी चाखी
पकाएको परिकार
अनि खुल्लमखुल्ला लाएको
मायाको
के अर्थ छ र यहाँ र ?
ऊ एकछिन् हाँसेर बोल्दा
कयौँ दिन
उसले गरेका गल्ती
त्योसँग अब बोल्दिन भनेर
आफैँसँग गरेका
बाँचा बिर्सिदिन्छु
बोलीमा मिठास
नहोला मेरो
तर मनमा कसैप्रति
पाप छैन
थाह छैन
कस्ता मान्छे छन्
यस दुनियाँमा
प्रेम पनि बेहिसाब
प्रेमले गर्छन्
अनि धोका पनि
बेहद प्रेमले गर्छन्
त्यस्तै मान्छेभित्र
म पर्छु
तर मभित्रको
ऊ अलि फरक छ
बोलीमा मिठास
व्यावहारमा शालिनता
संस्कारपूर्ण अभिव्यक्ति
ज्ञान
र विज्ञानले भरिपूर्ण ऊ
लाग्छ थाम्नै नसकिने
अनेकौँ पीडाहरूको
भारी बोकेर हिँडेको
थकित भरिया हो
तर आज
सन्चो छैन कि भनेर
सोध्नै हुन्न हाँसेर
सबै राम्रो भएको
आवाज सुनिन्छ
तर त्यो आवाजभित्र
धेरै पीडा
रुमलिएको भान हुन्छ
मलाई
म झस्किन्छु
समय हर कसैको हुँदैन
माया हर कोहीसँग हुँदैन
आज फेरि उनैको
यादमा शब्द कोरिए
भक्कानिएको मन
आँखामा आँसु भरिए
कति निष्ठुरी रहेछन्
ती आँसु
नखस भन्दा भन्दै
आँखाको नानीबाट
नमानी झर्दिए
जब उनलाई गुमाउने
डर लाग्यो
आँसुहरू झरे
तब महसुस भयो
माया
निकै गाढा भइसकेको रहेछ
ऊ हुनु
र नहुनु
दुवैको अर्थ रहन्छ
म एक्लै हुनुको पनि
ऊ साथै
नहुनुको पनि
त्यसैले
मभित्रको ऊ
निकै आत्मीय छ
प्यारो छ
म कदापि भुल्न सक्दिनँ
मभित्रको

मेरो प्रिय मान्छे !!

लोचन फूलको थुँगा,
लम्कि १० कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *