देउवा र प्रचण्डलाई एकै मञ्चमा देखेपछि सरकार ढल्ने त्रासमा ओली
नेपाल दर्पण, काठमाडौं ।
अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को निर्वाचनसम्म सहकार्य रहने प्रष्टीकरण दिइरहेका छन । आखिर किन प्रधानमन्त्री ओलीले बारम्बार सरकार ढल्दैन र सहमतिअनुरुप शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भनिरहनुले ओली त्रसित रहेको विश्लेषकहरूको टिप्पणी छ । अझ नेपाल प्रिमियर लिग (एनपीएल) को समापन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिले ओलीप्रति आशंका गर्नेहरूलाई बल पुगेको छ ।
यता, नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले आफ्नो पार्टी र नेपाली कांग्रेसका नेताहरुबीच निरन्तर भेटघाट भइरहेको खुलासा गरेका छन् । नेता पौडेलका अनुसार आहिले कांग्रेस–माओवादीका नेताहरुबीच निरन्तर भेटवार्ता भइरहेको भएपनि सरकार ढाल्ने र अर्को गठबन्धन बनाउने बारेमा भने छलफल भएको छैन । नेता पौडेलले कांग्रेसले प्रस्ताव ल्याएको खण्डमा आफूहरु सरकार सम्हाल्न तयार रहेको पनि बताए । ‘भेटघाट भएको छ, सरकार ढाल्न औपचारिक रुपमा कुराकानी गरेका छैनौं । उहाँहरु कुराकानी गर्न आउनुभयो भने हामी तयार छौं । हामीले अहिले सरकार ढाल्ने कुरा गरेका छैनौं, उहाँहरु आफैं ढल्नुभयो भने सम्हाल्न हामी तयार छौं,’– उनले भने ।
साथै, हिजो (शनिबार) एनपीएल हेर्न कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्नुले पनि सकारात्मक सन्देश दिएको उनले बताए । नेता पौडेलले देउवा–प्रचण्डबीचको त्यो भेट खेलको प्रसंगमा भएको भएपनि सन्देश भने सकारात्मक गएको बताए । ‘हिजो चाहीँ उहाँहरु एकै ठाउँमा भएर जनु म्यासेज दिनुभएको छ, सरकारको प्रसंग होईन, खेलको प्रसंग हो । म्यासेज चाहीँ सकारात्मक गएको छ, त्यसलाई हामी सकारात्मक लिनुपर्छ,’– उनले भने । ‘अब कांग्रेससँग नयाँ गठबन्धन बन्न सक्छ ?’ भन्ने प्रश्नमा उनले आफूहरु सरकार ढाल्ने खेलमा नरहेको भएपनि यो सरकार आफ्नै गतिविधि, क्रियाकलापका कारण ढल्ने दाबी गरे । ‘बन्न सक्छ । यो सरकार आफैं धेरै समय चल्छजस्तो मलाई लाग्दैन । हामी भत्काउन हिँडेका त छैनौं । तर, सरकारका आफ्नै गतिविधि, क्रियाकलाप, तरिका, शैलीका कारण यो सरकार आफ्नै कारणले ढल्ने देखिँदैछ,’– नेता पौडेलले भने ।