व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
नेपाल दर्पण, काठमाडौं ।
सर्वोच्च अदाललेत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चले शुक्रबार उक्त आदेश दिएको हो । दुर्गा प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले यही पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए ।
उक्त रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाई गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो । सोही रिटमा सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको सर्वोच्च अदालत स्रोतले बतायो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले उक्त आदेश जारी गरेको हो । यसअघि साइबर क्राइमको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनले संगठित अपराधमा पक्राउ गरेको थियो । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईँको संलग्नताबारे अनुसन्धान भइरहेको छ । सो अभियोगमा प्रसाईँलाई पक्राउ पर्नु पहिला नै प्रहरीले बोलाएर बयानसमेत लिएको थियो । सो समूहका नाइके हरिचन्द्र फुयाल अहिले पनि प्रहरी हिरासतमा छन् ।