NPL: प्लेअफका लागि सुदूरपश्चिम–जनकपुर र चितवन–कर्णाली भिड्ने

नेपाल दर्पण, काठमाडौं ।

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएपछि प्लेअप समिकरण पूरा भएको छ । आज भएको खेलमा १०२ को लक्ष्य ४ विकेट गुमाएर सुदूरले १०५ रन बनाउँदै जित हात पारेको हो । प्लेअफका लागि सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन् ।

लिग चरणको २८ खेल सकिँदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानको जनकपुर बोल्ट्सले १० अंक जोड्यो । चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो भयो । ८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पार्दै बाहिरियो । यसअघि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्स अन्तिम खेल खेल्नुअघि नै बाहिरिएका थिए । अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् । तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा भिड्नेछन् ।

सुदूरपश्चिमले एनपीएलमा पहिलो पटक टस जितेको पछि ब्याटिङमा आएको कर्णाली सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली १ सय १ रनमा अलआउट भयो । सुदूरपश्चिमले यो लक्ष्य १२.२ ओभरमा पुरा गरेको भए कर्णालीलाई उछिन्दै गुर्खाज नेट रन रेटमा अगाडि रही प्लेअफमा पुग्ने थियो । सुदूरपश्चिमले १५.२ ओभरमा पूरा गरेपछि कर्णाली पनि शीर्ष चारमा सुरक्षित भएको हो । इशान पाण्डेले ३६ बलमा अविजित ३८ रन बनाएर सुदूरपश्चिमलाई जिताए । उनले ४ चौका प्रहार गरे ।


आरिफ शेख ४ रन बनाई अविजित रहे । २८ रन बनाउदा ३ विकेट गुमाइसकेको अवस्थामा इशान र कप्तान दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा ६७ रनको साझेदारी गरे । दीपेन्द्रले २९ बल खेली ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाए । विनोद भण्डारी ४, सैफ जैब ११ र ब्रान्डन म्याकमुलेन ३ रन बनाई आउट भए । कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले १ विकेट लिए ।

यसअघि खुलेर ब्याटिङ गर्न नसकेको कर्णालीविरुद्ध हरमित सिंहले ३ विकेट लिए । अन्तिम ओभरमा नन्दन र विपिनलाई आउट गरेका उनले ४ ओभरमा १७ रनमात्र खर्चे । दीपेन्द्रसिंहले ४ ओभरमा २० र स्कट कुग्लेनले ४ ओभरमा २९ रन खर्चेर २–२ विकेट लिए । एक विकेट जैबको नाममा रहयो । जेसन मक्सुदले कर्णालीबाट सर्वाधिक ३० रन बनाए । उनले ३५ बल खेली ४ चौका प्रहार गरे । विलियम बोसिस्टो २४ बलमा १६, बाबर हायत ९ बलमा १३, चाडविक वाल्टन र सोमपाल समान ११, देव खनाल ७, गुलशन झा २ रन र प्रतियोगितामा पहिलो खेल खेलीरहेका रित गौतम शून्यमा आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *