रविलाई भेट्न जेल पुगे ज्ञानेन्द्र शाही, पत्नी निकिताले दिइन मानवअधिकारमा उजुरी

नेपाल दर्पण, काठमाडौं ।

राप्रपाका प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाहीले रास्वपाका सभापति रवि लामिछाने हिरासतमा भेट गरेका छन् । शाही मानवअधिकारकर्मी तुलसी थापासहित आज कास्की पुगेका हुन् । चितवनमा बयान लिएर सकिएको दिन लामिछानेलाई मध्यराति पोखरा पुर्याईएको समाचार बाहिरिएको छ । धेरैले लामिछानेमाथि प्रहरीले धरपकड गरेको भन्दै सार्वजनिक रुपमा आलोचना गरेका छन् । र, लामिछानेको मानवअधिकारको रक्षाको लागि माग गरेका छन् । यही सन्दर्भमा शाही पनि आज लामिछाने भेट्न कास्की पुगेका हुन् ।

हिजोमात्रै लामिछानेलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि हिरासतमै पुगेर भेटेका थिए । सो क्रममा उनले लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै आक्रोश पोखेका थिए । रातारात चितवनबाट पोखरा लगेर सरकारले लामिछानेमाथि राज्य संयन्त्रको दुरुपयोग गरी अमानवीय व्यवहार गरेको निष्कर्ष रास्वपाले निकालेको छ । रास्वपाले लामिछानेमाथि गैरन्यायिक कार्य गरेको र निजी डायरीसमेत गायब बनाएको आज विज्ञप्ति निकालेर जनाएको छ ।

यता लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै उनकी पत्नी निकिता पौडेलले पनि आज राष्ट्रिय मानवअधिकार आयोजमा उजुरी दिएकी छिन् । हिरासतमा यातना दिएको र अमानवीय व्यवहार भएको उल्लेख गर्दै उनले छानबिनको माग राखेर उजुरी दिएकी हुन् । लामिछाने सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा छन् । उनी विरुद्ध अन्य ४ जिल्लामा पनि अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *