सर्वोच्चले झड्का दिएपछि कांग्रेस इतर समूह छलफलमा, एकढिक्का बनौंःगगन थापा



नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेस विवादमा सर्वाेच्च अदालतले दिएको फैसलापछि संकटमा परेको इतर समूह छलफलमा जुटेको छ । पूर्व उसभापति पूर्णबहादुर खड्काले इतर समूहका नेताहरूको भेला बोलाएका हुन् । पार्टीको आधिकारिकता विवादमा खड्काले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो । सर्वोच्चको फैसलापछि आगामी रणनीतिबारे छलफल गर्नको लागि ४ बजे खड्का निवासमा छलफल हुन लागेको नेता डा. प्रकाशशरण महतले बताए ।
गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिरकारिकतालाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष सर्वाेच्च गुहार्न पुगेको थियो । तर शुक्रबार सर्वाेच्चले उक्त रिट नै खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको थियो ।
यता, नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकताको वातावरण सिर्जना गरेको बताएका छन् । थापाले भनेका छन्, ’सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ । यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’ सभापति थापाले पार्टीका सबै सदस्य र शुभेच्छुकलाई देशभित्र तथा विदेशबाट समेत जिम्मेवारीपूर्वक पार्टी एकता र पुनर्जागरणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् । उनले पार्टीलाई पुनः बलियो बनाउने साझा यात्रामा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
थापाले भनेका छन्, ‘१५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ । महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ।’ सभापति थापाले अग्रज नेताहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने पार्टी निर्माणमा जोड दिएका छन् । समुन्नत नेपाल निर्माणका लागि सबै नेता–कार्यकर्ता एकढिक्का भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

