विमानस्थल बन्द भएकाले खाडीका नेपालीहरुलाई फर्काउन नसकिने सरकारको निष्कर्ष

नेपाल दर्पण, काठमाडौं ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको मारमा परेका नेपालीहरूको विषयमा छलफल गरेको छ । सरकारले अरबका विभिन्न देशका विमानस्थलमा अलपत्र रहेका नेपालीलाई त्यहीँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाएको बताएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको हो ।

‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन र अघि ल्याउन सकिँदैन । अहिले जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने छलफल भएको छ,’ परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए । अहिले वैदेशिक रोजगारी अन्य भिसा लिएर हिंडेका नेपालीहरू काठमाडौंको विमानस्थलदेखि विभिन्न देशका ट्रान्जिटमा समेत फसेको सरकारले जनाएको छ । परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालीहरूलाई परेको समस्या समाधान गर्न सरकार तत्पर रहेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फसेकाहरूलाई उद्धार गरिसकिएको बताए।

त्यस्तै ट्रान्जिटमा फसेका नेपालीहरूलाई पनि सोही स्थानमा सुरक्षित राख्न सम्बन्धित देशका दूतावासहरूलाई निर्देशन दिइएको उनले बताए । ’सबै एयरपोर्टहरू बन्द छन् । कसैलाई फर्काउन पनि सकिँदैन, अगाडि लैजान पनि सकिँदैन । अहिले जहाँ छन्, त्यहीँ नै सुरक्षा दिएर राख्ने मात्र प्रबन्ध भएको छ,’ उनले भने । उनले सम्बन्धित एयरलायन्स र व्यवसाय दिने कम्पनीहरूसँग पनि नेपालीको सुरक्षाका विषयमा छलफल भएको बताए । उनले हालसम्म कुनै पनि नेपालीको हाताहाती नभएको बताए । ’त्यहाँ बसेका अधिकांश नेपालीहरूका बारेमा अहिलेसम्म कुनै पनि हताहत नभएको र यसको सुरक्षाको निमित्त उचित प्रबन्ध मिलाइसकिएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *