स्वस्थ राजनीतिक बहसभन्दा ‘अस्तित्वको लडाइँ’मा रवि, बालेन र गगन



नेपाल दर्पण, काठमाण्डौ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सँघारमा छ । यस सँघारमा तीन जनाको अति बढीनै चर्चा छ बालेन, रवि र गगनको । आज ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गौशालाबाट सुरु गरेको छ भने कांग्रसले पनि आफ्नो प्रचार–प्रसार तीव्र रुपमा गरिरहेको छ ।
जनतामाझ पुग्दा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू नयाँ भनिएका रास्वपा र तिनका नेताहरूलाई ‘पपुलिष्ट र चटके’को संज्ञा दिइरहेका छन् भने रास्वपाका नेताहरू पुरानालाई भ्रष्ट र असक्षम भन्दै ‘उनीहरूले देश विगारे हामीमात्र बनाउँछौँ’ भनेर दाबी गरिरहेका छन् । यस्तो घोचपेचमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सोही पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा संलग्न देखिएका छन् ।
केहिदिन अघि धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता बालेन्द्र शाहले पुराना पार्टीका सरकारले विकास निर्माणका काममा ढिलासुस्ती गर्ने गरेको भन्दै काम छिटो गर्नका लागि आफूहरूलाई मत दिन आग्रह गरे । उनले अब बन्ने आफ्नो नेतृत्वको सरकारले काम नगर्नेहरूलाई रुखमा बाँधेर वा खोरमा थुनेर भए पनि तीव्र विकास गर्ने आशयको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई क्यास गर्दै कांग्रेस सभापति गगन थापाले काम छिटो गर्न कसैलाई बाँध्ने र थुन्ने उपयुक्त बाटो नभएको भन्दै कानुन फेर्न जरुरी रहेको बताए ।
थापाले समस्या पहिचान नगरी कसैलाई ठिंगुरा ठोक्दैमा काम हुन नसक्ने दाबी पनि गरे । ‘भैरहवामा प्लेन झरेन भने कसैलाई ठिंगुरा ठोकेर हुँदैन, नझर्ने कारणको खोजी गर्नुपर्छ, समस्याको निवारण गर्न सक्नुपर्छ’ थापाले भने, ‘भौतिक पूर्वाधार विकासको गति बढाउन ४१ वटा कानुन संशोधन गर्न जरुरी छ । कसैले भन्छ– ठेकदारलाई थुनेर भए पनि समयमा काम गराउँछु । व्यक्तिका कारण काम रोकिएका छैनन् । सिस्टममा सुधार नगरी विकासले गति लिने अवस्था छैन ।’
थापाले यसो भने लगत्तै गत फागुन १२ सुनसरीको इटहरीमा रास्वपा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले २० वर्ष सांसद भएको मान्छेलाई बल्ल कानुन फेर्ने ज्ञान पलाएको भनेर कटाक्ष गर्दै मुलुकमा अब विकास निर्माणको युग सुरु भइसकेको दाबी गरे । ‘२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईंहरूलाई ? बल्ल ज्ञान आयो ? तपाईंको ज्ञान तपाईंसँगै राख्नुहोला,’ लामिछानेको भनाइ थियो । रविले बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, डोरीले बाँध्ने भनेको होइन । कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’ रवि, बालेन र गगनमात्र होइन, चुनावको सँघारमा एमाले पनि यस्तो घोचपेच र आरोप–प्रत्यारोपमा कम देखिएको छैन । दशकौँदेखि सत्ता राजनीतिमा रजगज गरेका पुराना दल र नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएका भनिएका दलहरूबिचको यस्तो प्रतिस्पर्धा स्वस्थ राजनीतिक बहसभन्दा पनि ‘अस्तित्वको लडाइँ’का लागिमात्र भइरहेको बुझ्न सकिन्छ ।

