एमालेको झण्डा जलाउने व्यक्ति पक्राउ, प्रतिशोधमा बालेनको पुत्ला दहन



नेपाल दर्पण, दाङ ।
दाङको तुलसीपुरमा हिजो रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भीडमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झण्डा जलाएको भिडियो सार्वजनकि भएपछि अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेका तुलसीपुरको कालाखोला बस्ने वर्ष ५५ का बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको र यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । हिजो रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरूले झण्डा जलाएका थिए । निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।
हिजो एमालेको झण्डा जलाएको भन्दै उसको विद्यार्थी संगठन अखिलले गम्भीर आपत्ति जनाएको छ । यस्ता अराजनैतिक गतिविधि गर्नेलाई अविलम्ब कारबाहीको माग गर्दै अखिलले आरआर क्याम्पस अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको पुत्ला जलाएका छन् । उक्त घटनाप्रति एमालेले पनि ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले जिम्मेवार व्यवहार प्रदर्शन गर्न पनि सबैमा अनुरोध गरेको छ ।

