‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ पृथ्वीपथ मार्गदर्शक भन्दै राप्रपाले निकाल्यो घोषणा पत्र



नेपाल दर्पण, काठमाडौं ।
राप्रपाले आफ्नो चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । राप्रपाले देशमा सुशासन स्थापना गर्ने दृढ प्रतिबद्धतासहित विभिन्न संरचनात्मक तथा कानुनी सुधारका कार्यक्रमसहितको चुनावी संकल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको हो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति शनिबार (फागुन २) सार्वजनिक गरिएको घोषणापत्रमा ‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौँ’ भन्ने सन्देशसहित सुशासनको कार्यक्रम अगाडि सारिएको हो । राप्रपाले प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति प्रतिबद्ध रहेको उल्लेख गरेको छ । उसले नेपालमा पृथ्वीपथलाई मार्गदर्शक सिद्धान्तको रुपमा अङ्गीकार गर्ने एकमात्र दलको रुपमा आफूलाई दाबी गरेको छ ।
विगतका तीन दशकको राजनीतिलाई समिक्षा गर्दै राप्रपाले यो तीन दशक दल र ती नेताको विकासको लागि भएपनि देश र जनताको विकासको लागि नभएको पनि उसको टिप्पणी छ । अहिले मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर अवस्थामा रहेको चित्रण गरेको छ । राप्रपाले अबको गन्तव्य नै सवल, समृद्ध र समुन्नत नेपाल–पृथ्वीपथ भनेको छ । सुशासनको सवालमा उसले ०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानूनी व्यवस्था मिलाईने संकल्प गरेको छ । घोषणापत्रमा उच्चस्तरीय छानबिनदेखि न्यायपालिका पुनर्संरचनासम्मका कार्यक्रम अगाडि सारिएको छ । ०४६ सालपछि उच्च पदमा बसेका नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गरिने घोषणा गरिएको छ ।
अवैध सम्पत्ति जफत गर्न कानुनी व्यवस्था मिलाइने, भ्रष्टाचारसम्बन्धी सूचना दिने व्यक्तिलाई संरक्षण र प्रोत्साहन गर्न ‘सूचक संरक्षण ऐन’ बनाई लागु गरिने घोषणापत्रमा उल्लेख छ । नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भ्रष्टाचार र अनाचार अन्त्य गर्न सार्वजनिक पद धारण गर्ने पदाधिकारीलाई कानुनी दायरामा ल्याउन ‘स्वार्थको द्वन्द्व’सम्बन्धी कानुन जारी गरिने राप्रपाले जनाएको छ । हालको सम्पत्ति शुद्धीकरण ऐनमा सुधार गर्दै अन्तर्राष्ट्रिय आर्थिक मान्यता तथा देशको आवश्यकताअनुसार परिमार्जन र संवैधानिक नियुक्तिहरूमा राजनीतिक हस्तक्षेपमुक्त व्यवस्था लागु गरिने घोषणापत्रमा उल्लेख छ । न्यायपालिकामा देखिएको विकृति र विसंगति अन्त्य गर्दै गुमेको विश्वसनीयता पुनस्र्थापित गर्न पुनर्संरचना तथा पुनर्नियुक्तिको व्यवस्था गरिने जनाइएको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनका लागि पार्टीले तयार गरेको घोषणापत्रमा कार्यान्वयन गर्न सकिने संकल्प मात्रै गरिएको बताएका छन् । शनिवार घोषणापत्र जारी गर्दै उनले शतप्रतिशत कार्यान्वयन गर्न सकिने प्रतिबद्धताहरू मात्रै समावेश गरिएको बताए । पार्टीले पूर्ण बहुमत हासिल गर्ने विश्वासका साथ आफ्नो घोषणापत्र तयार पारेको उनले बताए । उनकाअनुसार घोषणापत्रमा मतदातालाई भ्रममा पार्ने वा केवल भोट बढाउने उद्देश्यले कुनै पनि कुरा राखिएको छैन । उनले वितरणमुखी नीति नभई देशको अर्थतन्त्रलाई कसरी मजबुत बनाउने भन्ने कुरामा पार्टी केन्द्रित रहेको बताए। आयात प्रतिस्थापन, रोजगारी अभिवृद्धि, राजश्व वृद्धि र आर्थिक दायरा विस्तार गर्ने स्पष्ट योजनाका आधारमा घोषणापत्र तयार गरिएको उनले जानकारी दिए । सबै विषय यथार्थमा आधारित भएकाले प्रतिवद्धता पूरा गर्न वैदेशिक ऋण लिनु नपर्ने र करसमेत नबढाउनुपर्ने उनको दावी छ। अर्थतन्त्रलाई व्यवस्थित र विस्तार गर्नसके पाँच वर्षभित्र संकल्पित कार्यक्रमहरू पूरा गर्न सकिने उनले बताए।

