छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने



नेपाल दर्पण, काठमाडौं ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद फेरि २५ दिन थपिएकोे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद तेस्रोपटक थप गर्ने निर्णय गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले गौरीबहादुर कार्की नेतृत्वको वर्तमान आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको जानकारी दिए । आयोगले भदौ २३ र भदौ २४ गतेको घट्नाको अनुसन्धान अन्तिम चरणमा पर्याएको छ । अब २५ दिन म्याद थपिएसँगै आयोगको प्रतिवेदन २१ फागुनको निर्वाचनअघि आउने सम्भावना छैन ।
आयोगको दोस्रोपटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदै छ । अर्यालले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयानुसार भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो ।’ सरकारले गत असोज ५ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो ।
३ महिनाको कार्यादेशसहित गठित सो आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि आयोगको म्याद थपेको थियो । आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः २० दिन आयोगको म्याद थप गरेको थियो । दोस्रोपटक थपिएको समयावधिभित्र पनि आयोगले प्रतिवेदन बुझाउन नसकेपछि पुनः तेस्रोपटक २५ दिन सरकारले म्याद थपेको हो । सरकारले आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ पनि स्वीकृत गरेको छ ।

