एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा



नेपाल दर्पण, काठमाडौं ।
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको बताएका छन् । शर्माले एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री चलाउन नसक्ने टिप्पणी गरेका हुन् ।
“प्रधानमन्त्रीको एकजना उमेदवार हुनुहुन्छ बोलेको बोल्यै, घोचेको घोच्यै गर्ने । अर्को हुनुहुन्छ एकछिन बोलेजस्तो गर्नुहुन्छ, मौन धारण । एउटा धेरै बोल्ने, अर्को बोल्दाबोल्दै हराइहाल्ने,“ शर्माले भने, देशको प्रधानमन्त्री धेरै बोल्नेबाट पनि चल्दैन । बोल्दै नबोल्नेबाट पनि चल्दैन । देशको प्रधानमन्त्री ठिक्क बोल्नेबाट मात्रै चल्छ । प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्नुपर्ने शर्माको भनाइ छ । कांग्रेस सभापति गगन थापा ‘तौलेर बोल्ने’ नेता भएको उनको भनाइ छ । “गगन थापा त्यही कुराको तौलेर बोल्ने व्यक्तिको रूपमा हुनुहुन्छ,“ शर्माले भने । अहिलेको बहस वडा अध्यक्षको नभई प्रधानमन्त्रीको भएको भन्दै शर्माले झोक चल्यो भने घर जलाइदिन्छु भन्ने अभिव्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नहुने टिप्पणी गरे । सोमवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले जेनजी आन्दोलनको क्रममा सरकारमा रहँदा पार्टीबाट भएका कमजोरीहरूको जिम्मा लिन आफूहरू तयार रहेको बताएका छन ।
यता, सोमबार विराटनगरमा आयोजना गरिएको कोसी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट र अन्तक्र्रियामा सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी आवश्यक संशोधन गरेर अझै क्रियाशील र गतिशील बनाइने बताएका छन् । थापाले वर्तमान संविधान सहमतिको दस्तावेज भएकोले यसको संरक्षण आवश्यक भएको बताए । संविधान संशोधन गर्नैपर्ने अवस्था आएकाले फागुन २१ गतेको निर्वाचनपछि यसका लागि कांग्रेसले पहल लिने उनको भनाइ छ । भ्रष्टाचारमुक्त शासन अहिलेको एजेन्डा भएकाले यसको नेतृत्व लिने गरी आगामी निर्वाचनमा होमिन कार्यकर्ताहरूलाई थापाले आग्रह गरे । उनले जेनजी आन्दोलनमा भ्रष्टाचारमुक्त मुलुक र सुशासनको माग उठेको भन्दै अख्तियार, अदालतजस्ता संवैधानिक निकायहरूमा पनि व्यापक सुधार आवश्यक रहेको बताए ।

