कसैलाई गालीगलौज नगर्न रविको आग्रह, बालेनको कार्यालय तोडफोडको भ्रामक खबर

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्रमा चुनाी अभियानमा निस्केका छन । आज चुनावी प्रचारका लागि चितवन– २ का विभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गर्दै लामिछानेले चुनावी प्रचार सुरु गरेका हुन् ।

रविले चुनावी अभियानको क्रममा कसैलाई गालीगलौज नगर्न र कसैले गरे पनि प्रतिबाद नगर्न आग्रह गरेका छन । उनले अबको लडाईं दलको उमेदवारसँग नभइ गरिबी, अशिक्षा, बेरोजगारीलगायत देशका विभिन्न समस्यासँग भएको बताएका छन । रविले अबको जवाफ मतदानको दिन मतपत्रमा छाप लगाएर दिनुपर्ने बताए । रविले निर्वाचनका क्रममा आफू देशभर जानुपर्ने भएकाले चितवनबासीसँग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे ।

उता पूर्वि नेपालमा चुनावी अभियानमा खटिएका रास्वपा उम्मेदवार बालेन्द्र शाहको सम्पर्क कार्यालय ताडिएको भनेर भ्रामक खबर फैलाइएको छ । कार्यालयमा ठुलो क्षति पुगेको भन्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइएको घटनामा प्रशासनले कानुनी कारबाही प्रक्रिया सुरु गरेको छ । प्रशासनका अनुसार झापा क्षेत्र नं. ५ अन्तर्गत कमल गाउँपालिका–२, क्याम्पा बजारमा रहेको बालेन शाहको सम्पर्क कार्यालय रहेको घरमा माघ २१ गते राति करिब १२ः१५ बजे सामान्य ढुंगा प्रहार भएको थियो । उक्त घटनामा घरधनी बस्ने कोठाको झ्यालको एउटा सिसा मात्र फुटेको प्रशासनले स्पष्ट पारेको छ ।

तर सो सामान्य घटनालाई लिएर एआई प्रविधिको दुरुपयोग गर्दै कार्यालय नै ध्वस्त भएको जस्तो देखिने तस्बिरहरू बनाइ सामाजिक सञ्जालमा भाइरल गरिएको पाइएको प्रशासनको भनाइ छ । ‘वास्तविक घटना स्थिति भन्दा फरक पारेर गम्भीर प्रकृतिको तोडफोड भएको देखिने तस्बिर बनाई सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको पाइएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ, ‘त्यस्ता व्यक्ति वा समूहको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाइसकिएको छ ।’ प्रशासनले ‘वास्तविक तस्बिर’ र ‘भ्रम फैलाउन प्रयोग गरिएको तस्बिर’ दुवै सार्वजनिक गर्दै यस्ता सूचनाप्रति सजग रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *