म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँः प्रचण्ड



नेपाल दर्पण, काठमाण्डौ ।
नेकपा संयोजक पुष्पकमल दाहालले आफू खलनायक बनेर इतिहासमा हराउन नचाहेको बताएका छन । उनले नयाँ पुस्तालाई स्वागत गर्ने र आम नागरिकलाई स्वतन्त्र चिन्तन गर्न अपिल गरेका छन् । आफू सत्ताको भागबण्डामा सहभागी नहुने र पुराना नेताहरूको भीडमा नरहेको स्पष्ट पारेका छन् । दाहालले परिवार र सहयात्रीहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाउँदै देशको भविष्यका लागि पारदर्शिता, भ्रष्टाचारको अन्त्य र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको बताए । एक भिडियो सन्देश जारी गरेर उनले देशलाई सही दिशामा नपु¥याएसम्म विश्राम नलिने घोषणा गरे।
‘हलिउडमा एउटा चर्चित संवाद छ, ‘या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहू ।’ यदि म धेरै अघि बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला । तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ । म यो देशलाई सही दिशामा नपु¥याएसम्म विश्राम लिने छैन । तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, त्यो तपाईँहरूको स्वतन्त्रता र अधिकार हो । तर, मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ । म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन,’ उनले भनेका छन् ।
जेनजीहरूले मागिरहेको भ्रष्टाचारको अन्त्य, पारदर्शिता र एउटा बलियो सरकार ती मागहरू आफूले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा रहेको उनको भनाइ छ । ‘मैले लामो समयदेखि भन्दै आएको छु कि यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ । यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौँ । त्यसैले म भन्छु, मेरो माग र तपाईँहरूको माग एउटै हो । म तपाईँहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ,’ उनले भने । उनले आफू नयाँ विचारहरूका लागि सधैं खुला रहेको र नयाँ पुस्तालाई स्वागत गर्न तयार रहेको बताए । ‘तर, एउटा कुरा याद राख्नुहोस् हरेक चम्किलो चिज हिरा हुँदैन । आजको यो डिजिटल युगमा, सामाजिक सञ्जालका भ्रमहरूले तपाईँहरूलाई बहकाउन सक्छन् । म यहाँ तपाईँहरूसँग भोट माग्न आएको होइन, म त तपाईँहरू लाई स्वतन्त्र चिन्तनका लागि अपील गर्न आएको हुँ,’ उनले भने ।

