कांग्रेस पुरानो होइन, जिम्मेवार, समावेशी र जोड्ने राजनीति गर्ने नयाँ युगको कांग्रेस होःगगन थापा

नेपाल दर्पण, काठमाण्डौ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र गुट उपगुट सबै समाप्त भएको बताएका छन् । उनले पार्टीभित्र गुटबन्दी र ६०–४० को भागबण्डा समाप्त भएको दाबी गरेका छन । थापाले अब सभापति वा महामन्त्रीको घरमा धाएर टिकट लिने दिन पनि सकिएको उनको टिप्पणी छ । ‘यो कांग्रेसले देश सम्हाल्छ’, भन्दै उनले भने, ‘अब कांग्रेस पुरानो होइन, जिम्मेवार, समावेशी र जोड्ने राजनीति गर्ने नयाँ युगको कांग्रेस हो ।’ आज काठमाडौंमा आयोजित पार्टीको चुनाव परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

शनिबार काठमाडौं–४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले आफू आज जुन जिम्मेवारीमा आइपुगेको छु, त्यो स्थानमा उभिन पाउने अधिकार सबै कांग्रेसजनसँग बराबर रहेको बताए । ‘म जहाँ छु, त्यहाँ उभिन पाउने हक तपाईंहरू सबैको हो’, उनले भने । थापाले यस पटक सहज मानिएको काठमाडौं निर्वाचन क्षेत्र छाडेर मधेसको सर्लाही–४ बाट चुनाव लड्ने निर्णय सोचेरै गरेको स्पष्ट पारे ।

पार्टीका स्थानीय नेताहरूले रोक्दा–रोक्दै पनि आफूले जोखिम उठाएको उल्लेख गर्दै उनले भने, ‘देशको नेतृत्व गर्ने हो भने मधेसलाई गम्ल्याङ अँगालो हाल्नु पर्छ ।’ उनले मधेसका मुद्दालाई आफ्नै मुद्दा बनाउने र मधेस–काठमाडौंबीच सेतु बन्ने उद्देश्यले आफू सर्लाही गएको बताए । ‘म जोड्ने राजनीतिमा विश्वास गर्छु, तोड्ने राजनीतिमा होइन । उनले चेतनाको राजनीति गर्ने, उत्तेजनाको होइन भन्ने स्पष्ट सन्देश दिएका छन् । ‘काठमाडौं छाडेर गयो भनेर नभन्दिनु होला, त्यसो भनिदिँदा मलाई दुख्छ’, भन्दै भावुक बनेका थापाले काठमाडौंका नेता–कार्यकर्ता र स्थानीय समुदायसँगको सम्बन्ध निर्वाचनले नटुट्ने बताए ।

‘तपाईंहरू मेरो लागि नेता–कार्यकर्ता होइन, आमा–बुबा, दाजुभाइ, दिदीबहिनी जस्तै हुनुहुन्छ’, उनले भने । काठमाडौंले आफूलाई विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म धारिलो बनाएको उनको भनाइ थियो । सभापति थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन सम्पन्न हुने घोषणा गरे । नयाँ अधिवेशनपछि उम्मेदवार छनोट ‘प्राइमरी इलेक्सन’ मार्फत वडाबाटै हुने उनको भनाइ छ । ‘अब टिकटको लागि सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था हुँदैन’, उनले स्पष्ट पारे । थापाका अनुसार नयाँ कांग्रेस भनेको केवल चुनाव जित्ने मात्र होइन, नयाँ प्रतिबद्धतासहित देश सम्हाल्ने क्षमता राख्ने कांग्रेस हो । अब नेता–कार्यकर्ताले बदलिएको कांग्रेसको सन्देश घरघरमा पु¥याउन उनले आह्वान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *