घण्टी बजाउदै, हात हल्लाउदै, विना कुनै सम्बोधन बालेनको मौन चुनावी अभियान सपन्न

नेपाल दर्पण, काठमाण्डौ ।

कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् । शाहले शुक्रबार अछामका मंगलसेन, कमलबजार र विनायकमा घण्टी बजाउँदै सुदूरपश्चिम भ्रमण सकेका हन् । भ्रमणका दौरान बालेनले कुनै सभा गरेनन मात्र विभिन्न ठाउँमा घण्टी मात्र बजाएर सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रको भ्रमण गरे । शाहले कुनै स्थानमा सार्वजनिक सम्बोधन नगरी पार्टी कार्यालयमा घण्टी बजाउने र गाडीबाटै समर्थकलाई हात हल्लाएर अभिवादन गर्दै अर्को गन्तव्यतर्फ लाग्ने शैली अपनाएका थिए ।

सुदूरपश्चिम भ्रमणको पहिलो दिन शाहले कैलालीका पाँच र कञ्चनपुरका तीन गरी आठ निर्वाचन क्षेत्र पुगेका थिए । दोस्रो दिन उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेपछि सोही राति बझाङ गएका थिए । तेस्रो दिन बझाङबाट बाजुरा हुँदै अछाम–१ को साँफेबगर पुगेका शाह त्यसपछि डोटी पुगेका थिए । चौथो दिन भने उनले अछाम–२ का विभिन्न स्थानमा समय बिताए । भाषण नगर्ने, कसैसँग दोहोरो संवाद नगर्ने र प्रत्येक निर्वाचन क्षेत्रमा छोटो समय मात्रै बिताउने गरेका थिए । यसअघि पनि उनले एक निर्वाचन क्षेत्रमा औसतमा १० देखि १५ मिनेट मात्रै समय दिने गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका वरिष्ठ नेता बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विना कुनै सम्बोधन मौन अभियान सञ्चालन गरेका हुन् । जिल्लाका रहेका पार्टी कार्यालय र उम्मेदवारहरूका चुनावी सम्पर्क कार्यालयमा घण्टी बजाउँदै सर्मथकहरू माझ उपस्थित भए पनि उनले कुनै पनि कार्यक्रममा सम्बोधन गरेनन् । यो क्रममा शाहले डडेल्धुराको प्रसिद्ध बाजेको खीरको स्वाद लिनेदेखि हिउँसित फोटो खिच्नुका साथै विभिन्न स्थानको अवलोकन गरेको तस्बीर सामाजिक सञ्जालमार्फत भाइरल भए ।

अभियानकै क्रममा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका विभिन्न स्थानमा चुनावी अभियान सकेर शुक्रवार बालेनको टिम कर्णालीतर्फ प्रस्थान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिश भट्टले जानकारी दिए । नेता भट्टका अनुसार सुदूरपश्चिम भ्रमणका क्रममा वरिष्ठ नेता बालेनले पार्टीका उम्मेदवारहरूसित स्थानीयस्तरमा विद्यमान समस्या, मतदाता र पार्टीको अवस्थाबारे जानकारी लिने गरेका थिए । बालेनको सुदूर यात्रामा क्रेज अत्यधिक देखिएको रास्वपाका नेताहरूले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *