“सुदूर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई ”: बालेन शाह



नेपाल दर्पण, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन यतिबेला देश दौडाहामा लागेका छन । झापा ५ मा आफ्नी श्रीमती सबिना काफ्लेलाई घरदैलो अभियानमा खटाएर यतिबेला बालेन सुदूरपश्चिमको दार्चुला पुगेका छन् । उनी बुधबार (माघ १४) बिहान मात्रै डडेलधुरा हुँदै दार्चुला पुगेका हुन ।
इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धरान, धनकुटा, इटहरी समेटिएको भ्रमण पूरा गरी उनी सूदुरपश्चिमतिर लागेका हुन । माघ १३ बर्दिया ठाकुरबाबा दर्शन गरेका बालेनले दिउँसो पार्टी कार्यालय उद्घाटन गरे । ‘बालेन’ले सुदूरपश्चिमप्रति आत्मीय सन्देश व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो भावना सार्वजनिक गरेका छन् । बालेन आजै बिहान हिउँमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै डोटेली भाषामा लेखेका छन्, “सुदूर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई !”
डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर हुँदै अछामसम्म पुग्ने कार्यतालिका रहेको अछाम २ का उमेदवार भूपदेव शाहले बताए । “सुदुरपश्चिमका सबै जिल्लाहरूमा पुग्नुहुन्छ । उहाँले देशको भूगोल र समग्र वस्तुस्थिति बुझ्नुहुनेछ । वर्षाैंदेखि देखिएका स्थानीयका समस्या सुन्ने काम भइरहेको छ । परिवर्तनको पक्षमा देखिएको जनलहरसँग प्रत्यक्ष जोडिने अभियान हो,” उनले भने । सुदूरपश्चिम भ्रमणका क्रममा बालेन बुधबार बिहान डडेलधुरा पुगेका थिए । यहाँ पार्टीका नेता तथा कार्यकर्तासँग संक्षिप्त भेटघाट गरेपछि उनी बैतडी हुँदै दार्चुला पुगेका हुन । दार्चुलाबाट बझाङ जाने कार्यतालिका रहेको पार्टीले जनाएको छ ।

