जेन–जी आन्दोलन र विध्वंशको मुख्य जिम्मेवार केपी ओलीः नेकपा



नेपाल दर्पण, काठमाण्डौ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गत भदौको जेन–जी आन्दोलन र विध्वंशको मुख्य जिम्मेवार केपी ओली रहेको निस्कर्ष निकालेको छ । नेकपाका नेता वर्षमान पुन ‘अनन्त’ ले ओली नेतृत्वको तत्कालीन कांग्रेस–एमाले गठबन्धन सरकारका कारण जेन्जी आन्दोलन भएको बताएका हुन । आदोलनको पृष्ठभूमि निर्माण गर्न ओलीले सबैभन्दा बढी भूमिका खेलेको पुनको तर्क छ । तर, २४ भदौको विध्वंशमा भने गलत तत्वको घूसपैठ भएको पुनले औंल्याए ।
ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिले नवयुवामा बढेको तीव्र असन्तुष्टि २३ भदौमा विस्फोट भएको पुनको भनाइ थियो । नेता पुनले ओली सरकारको जनताका आवाज नसुन्ने र विचौलिया वर्गको सेवामा समर्पित हुने प्रवृत्ति मुलुक जल्नुको कारक रहेको बताए । ‘भदौ २३ गते ओली नेतृत्वको कांग्रेस–एमालेको गठबन्धन सरकारको भ्रष्ट, स्वेच्छाचारी दमनकारी र निरंकुश प्रवृत्तिविरुद्ध वनयुवाहरुमा गुम्सिएको असन्तोषको विस्फोट थियो’, पार्टीको रोल्पा काठमाडौं सम्पर्क मञ्चद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा पुनले भने, ‘जनताका आवाजलाई नसुन्ने विचौलिया र स्वार्थ समूहहरुको सेवामा मात्र काम गर्ने अनि जनताको मुख थुन्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कामको जवाफ थियो त्यो ।’
ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर हेलिकोप्टरमा भागेपछि सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालतजस्ता धरोहर तथा व्यक्तिका घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी र लुटपाट भएको पुनको भनाइ थियो । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा संघीय लोकतान्त्रिक गणतन्त्रमा सर्भिसिङ जरुरी देखेर सुशासनका लागि कदम चाल्दा डराएर मिलेका काँग्रेस–एमालेलाई जनताको शक्तिले मिल्काएको टिप्पणी पुनले गरे । आगामी २१ फागुनमा हुने निर्वाचनबाट ती शक्तिलाई जनताले थप दण्डित गर्ने दाबी पुनको छ ।

