रेशम चौधरी र देवेन्द्रराज कँडेल चुनाव लड्न नपाउने



नेपाल दर्पण, काठमाण्डौ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र कांग्रेसका पूर्वकेन्द्रीय सदस्य देवेन्द्रराज कँडेल चुनाव लड्न नपाउने भएका छन । उनीहरुकोे उम्मेदवारी खारेज भएको छ । कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका चौधरी र नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवारी लिएका कँडेलको मनोनयन खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
चौधरीको उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवार सत्य नारायण भट्टराईले उजुरी दिएका थिए । स्वतन्त्र उम्मेदवार भट्टराईले जन्मकैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएमा त्यस्तो सजाय पाउने व्यक्तिले निर्वाचनको उम्मेदवार हुन नपाउने व्यवस्था रहेको भन्दै उजुरी दिएका थिए । टीकापुर घटनामा सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो। चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
यस्तै आयोगले लुम्बिनी प्रदेश समितिका सदस्य भीमबहादुर थापाको उम्मेदवारी कायम राख्दै कँडेलको उम्मेदवारी रद्द गरेको हो । क्षेत्र नम्बर २ मा कांग्रेसका थापा र कँडेलले टिकट ल्याएर मनोनयन दर्ता गराएपछि आधिकारिकताको विषयमा विवाद देखिएको थियो । पार्टीले दुवैलाई टिकट दिएको थियो । थापाले पहिले उम्मेदवारी दिएका थिए । क्षेत्र नम्बर १ र २ ले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । ५७ जना उम्मेदवारमध्ये ५५ जनाको मात्र उम्मेदवारी कायम भएको छ ।

