चुनाव चिह्न रुख बिना १६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउने तयारीमा देउवा पक्ष

नेपाल दर्पण, काठमाण्डौ ।

निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापन पक्षले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि संस्थापन पक्षले १६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउने तयारीगरेको छ । निर्वाचन आयोगले रुख र चारतारे झण्डा गगन थापा समूहलाई दिएपछि संस्थापन पक्षले स्वतन्त्र उम्मेदवारीमार्फत कांग्रेस मत एकजुट राख्ने रणनीति बनाएको हो । यो निर्णयले कांग्रेसको आन्तरिक संघर्ष झनै निर्णायक मोडमा पुगेको संकेत गरेको छ । न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

‘नेपालको संविधानको धारा २६९ को उपधारा ४(क) को व्यवस्थाले निर्दिष्ट गरेको मार्ग निर्देशन समेतलाई मध्यनजर गरी विपक्षी आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र दफा ५१ मा भएका कानुनी व्यवस्थाहरूको आलोकमा गरेका निर्णयहरूलाई यस अदालतले आफ्नो असाधारण अधिकारक्षेत्रको प्रयोगमार्फत के कुन हदसम्म हस्तक्षेप गर्न मिल्ने हो ? भन्नेजस्ता जटिल राजनीति सम्बद्ध संवैधानिक प्रश्नहरुको निरुपण प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाई हुँदाका बखत सम्बोधन हुने प्रकृतिको देखिंदा हाल माग बमोजिमको अन्तरिम आदेश जारी गरि रहनु परेन । तर, प्रस्तुत रिट निवेदनमा जटिल एवं गम्भीर कानुनी तथा संवैधानिक प्रश्नहरू उठाइएको पाइदा यी प्रश्नहरूको छिटो निरोपण हुन आवश्यक देखिँदा विपक्षीहरूको लिखित जवाफ परेको वा अवधि व्यतित भएको मितिले १५ दिन भित्रप्रस्तुत निवेदनलाई अन्तिम सुनुवाईको लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३(१) बमोजिम अग्राधिकार प्रदान गरि नियामनुसार पेश गर्नू,’ आदेशमा भनिएको छ ।

उक्त आदेशसँगै थापा पक्षलाई तत्काल पार्टीको कामकारवाही अघि बढाउन बाटो खुलेको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षधरले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च रिट दायर गरेको हो । कांग्रेसको तर्फबाट शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका हुन् । देउवा र खड्काले प्रतिनिधिसभा सदस्यको उमेदवारी मनोनयन समेत रोक्न माग गरेका थिए । तर, सर्वोच्चले मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेपछि थापा नेतृत्वको कार्यसमितिलाई कामबारबाही अघि बढाउन सहज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *