एमालेबाहेक अरु कसैले चुनाव जित्दैन, मैले दुईतिहाई ल्याउछु बालेन हार्छनः ओली



नेपाल दर्पण, काठमाण्डौ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू दुईतिहाइ मत ल्याएर विजयी हुने र बालेन शाह पराजित हुने दाबी गरेका छन् । यतिमात्रै हैन ओलीले झापा क्षेत्र नम्बर ५ मा एमालेबाहेक अरु कसैले पनि चुनाव नजित्ने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलक्षित गर्दै केही पनि नभएका मान्छेहरुले हल्ला चलाएर एमालेले चुनाव नहार्ने बताए । उनले बालेनको चुनावी अभियानलाई सामाजिक सञ्जालको तामासाको संज्ञा दिए । बालेनलगायत झापा ५ बाट उम्मेदवारी दिएकाहरुले चुनाव हार्ने ओलीको दाबी छ ।
‘हामीबाहेक अरु कसैले जित्दैन । हामीसँग सुदृढ संगठन छ । हाम्रा कार्यकर्ता छन्, संगठन छ, समर्थक सुभेच्छुकहरु छन् । केही पनि नभएका मान्छेले यहाँ हल्ला चलाइरहेका छन् । यो सामाजिक सञ्जालको तमासा मात्रै हो,’– उनले भने । झापाको कमल गाउँपालिकाका कार्यकर्ताहरूसँगको भेटमा उनले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एक ढिक्का रहेको बताए । गत भदौमा भएको आन्दोलनमा राजनीतिक कार्यभन्दा बढी आपराधिक कार्यहरू भएको उल्लेख गर्दै उनले आन्दोलनका क्रममा भन्दा पनि आपराधिक कार्य गर्दा मृत्यु भएको उल्लेख गरे ।
उनले दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगति सबैका आँखाअघि छर्लंग रहेको उल्लेख गरे । यस क्षेत्रको नदी कटान बाँध निर्माण, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी, स्वास्थ्य क्षेत्र हरेक क्षेत्रमा भएको विकासबारे कसैलाई बुझ्न बाँकी रहेछ भने बुझाउन उनले आग्रह गरे । उनले बालेनलक्षित टिप्पणी गर्दै सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूलाई भूमिहीन नागरिकको व्यवस्थापनबारे थाहा नहुने बताए । उनले रास्वपा वरिष्ठ नेता शाहसँग भिजन, नीति, कार्यक्रम, गन्तव्य केही पनि नरहेको र उनी केवल टे«ड मिलमा डौडिरहेको ओलीले टिप्पणी गरे । ट्रेड मिलमा डौडिएर गन्तव्यमा पुग्न नसकिने उनको भनाइ छ । ‘भिजन, नीति, कार्यक्रम, गन्तव्य छैन । हिँड्नेमात्रै कहाँ जाने हो ? ट्रेड मिलमा डौडिएर कहीँ पनि पुगिँदैन । सामाजिक सञ्जाल प्रेरित ट्रेड मिलको यात्रा हो । आक्रोश, आवेशको होइन,’– उनले भने ।

