मेयर पदबाट बालेन शाह र हर्क साम्पाङले दिए राजिनामा



नेपाल दर्पण, काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राजीनामा दिएका छन् । उनले आज(आइतबार) मेयर पदबाट आजकै मितिदेखि लागू हुने गरि महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन् । मेयर शाहले राजीनामा दिएसँगै अबदेखि काठमाडौं महानगरको कमाण्ड उपप्रमुख डंगोलले सम्हाल्ने छिन् । अब उनी करिब डेढ वर्ष कार्यवाहक मेयरको रुपमा रहने छिन् । तर,सरकारले उपनिर्वाचन नगराएको खण्डमा मात्रै । रास्वपा प्रवेश गरेका बालेन नेकपा एमालेका अध्यक्ष एवं पूवप्रधानमन्त्रीको निर्वाचन क्षेत्र ‘झापा क्षेत्र नम्बर ५’ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् ।



बालेनले राजिनामा दिए लगत्तै धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले पदबाबट राजीनामा दिएका छन् । मेयर साम्पाङले आज (आइतबार) पदबाट राजीनामा दिएका हुन् । साम्पाङले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।



साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन् । उनले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन जितेर प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले स्थानीय तहको नेतृत्व सम्हाल्ने क्रममा जनताबाट प्राप्त विश्वास, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी राजनीतिक यात्रामा समेत जनसमर्थनको अपेक्षा रहेको बताए । साथै, उनले राष्ट्रिय तहमा पुगेर प्रधानमन्त्री भई आफ्ना योजना र एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।



नगरप्रमुख साम्पाङ श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिने भएका हुन् । उक्त पार्टीको चुनाव चिह्न ‘अञ्जुलीभित्रको माटो’ रहेको छ । नगरप्रमुख साम्पाङले तीन वर्ष आठ महिना २४ दिन कार्यभार सम्हालेका थिए ।

