गगन थापा पक्ष निर्वाचन आयोग जादै, पार्टी कार्यालय भने अझै देउवाको कब्जामा



नेपाल दर्पण, काठमाण्डौ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको नाम मात्रै परेकाले विशेष महाविधेशनबाट उनी निर्वाचित भएको घोषणा गरिएको हो । त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका हुन् ।



त्यस्तै सहमहामन्त्रीमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ता कुमारी यादव , प्रकाश रसाइली, डिला संग्रौला पन्त, बहादुर सिंह लामा, उदयशमशेर राणा, योगन्द्र चौधरी र कर्ण बहादुर बूढालाई चयन गरिएको छ । नवनिर्वाचत केन्द्रीय कार्यसमितिको बैठकपछि सभापति गगन थापालगायत नेताहरू निर्वाचन आयोग जाने भएका छन् । केन्द्रीय समितिको बैठक सुरु भएको छ । ललितपुरको कुपण्डोलस्थित म्याक्सिमम ब्यांक्वेटमा केन्द्रीय समिति बैठक बसेको छ । किनकी पार्टी मुख्यालय सानेपा सभापति शेरबहादुर देउवा पक्षको कब्जामा छ । बैठकबाट विभिन्न निर्णय गरिनेछ । त्यसपछि आफूहरू आयोग जाने एक नेताले बताए ।



आयोगमा उनीहरूले पार्टीको नयाँ कार्यसमिति चयन भएको जानकारी गराउनेछन् । त्यहीअनुसार विवरण अध्यावधिकका निम्ति निवेदन दिइनेछ । यता, भृकुटीमण्डपमा थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा हुन लागेपछि उता देउवा पक्षका युवाहरुले रातभरि पार्टी कार्यालयमा पहरा दिएर बसेका थिए । थापाले सभापतिमा निर्वाचित भएपछि दिएको पहिलो मन्तव्यमा आफू नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको दाबी गरेका थिए । गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा बसेको विशेष महाधिवेशनले १६६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उता, संस्थापन पक्षले भने गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षसम्म निष्काषन गरेको छ ।

